काठमाण्डौं उपत्यका र पोखराका हलहरुले हिन्दी फिल्मको प्रदर्शन रोकेका छन् । महानगरका मेयर बालेन शाहले ‘आदिपुरुष’ मा समावेश ’जानकी भारतकी छोरी हुन्’ भन्ने भ्रमपूर्ण संवाद भारतबाट नहटेसम्म हिन्दी फिल्म चल्न नदिने निर्णय गरेपछि हलवालाहरुले सोमबारदेखि हिन्दी फिल्म प्रदर्शन रोकेका हुन्।
हिजो मेयर बालेनले सोमबारदेखि महानगरमा हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने घोषणा गरेका थिए। उक्त निर्णय लागू गराउन महानगर प्रमुख बालेन्द्र शाहले हिजै नगर प्रहरी खटाएका थिए ।
महानगरपालिकाका प्रमुख शाहको निर्देशनपछि नगर प्रहरीले सबै हलमा पुगेर भारतीय फिल्म प्रदर्शन नगर्न निर्देशन दिएको थियो । गत बिहीबार उनले तीन दिनभित्र विवादित संवाद भारतबाटै नसच्यासम्म कुनै पनि हिन्दी फिल्म प्रदर्शन गर्न नदिने बताएका थिए।
यसैबिच पोखरा महानगरपालिकाले पनि नगरभित्र भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएको छ । महानगरभित्र रहेका सिनेमा हलहरूलाई पत्राचार गर्दै मेयर धनराज आचार्यले दक्षिण भारतीय चलचित्र आदिपुरूषमा राखिएको संवाद नसच्याइएसम्म कुनैपनि भारतीय चलचित्र नचलाउन निर्देशन दिएका हुन्।
‘दक्षिण भारतीय चलचित्र आदिपुरुषमा समावेश गरिएको जानकी भारतीय छोरी हुन् भन्ने शब्द नसच्चिएसम्म पोखरा महानगरपालिका क्षेत्र भित्रका चलचित्र घरमा अन्य कुनै पनि भारतीय फिल्म प्रसारण गर्न रोक लगाइएको व्यहोरा जानकारी गराइन्छ,’ मेयर आचार्यले सिनेमा हललाई लेखेको पत्रमा भनिएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया