बाढीले दर्जनौं विद्युत आयोजनामा खर्बौंको क्षति, निर्माणमा संलग्न ४ कामदारको मृत्यु, १८ बेपत्ता


नेपालको पूर्वी भेगमा असार १ र २ गते आएको बाढीले दर्जन बढी जलविद्युत आयोजनामा क्षति पुर्याएको छ ।

कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ र पाँचथर जिल्लामा निर्माणाधिन तथा निर्माण सम्पन्न भएका १५० मेगावाट क्षमताका १३ ओटा जलविद्युत आयोजनामा खर्बौं रुपैयाँ बराबरको क्षति पुर्याएको इप्पानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

“आयोजनामा भएको अपुरणीय क्षतिलाई सम्बोधन गर्न यथाशिघ्र राहत र उद्धार तथा वेपत्ताहरूको खोजीकार्यका लागि स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) स्थानीय प्रसाशन, स्थानीय सरकार र नेपाल सरकारसँग अनुरोध गर्दछ,” इप्पान अध्यक्ष गणेश कार्कीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

बाढीले संखुवासभामा हेवा खोला, पिलुवा खोला र सवा खोला नदी बेशिनमा बनेका, अपर हेवा खोला ८.५ मेगावाट, हेवा खोला ४.५ मेगावाट, सुपर हेवा खोला ५ मेगावाट, अपर पिलुवा खोला ४ मेगावाट, डाउन पिलुवा ९.९ मेगावाट, पिलुवा खोला ५ मेगावाट र सवा खोला ४ मेगावाट लगायतका आयोजनाहरूमा क्षति पुर्याएको छ । सुपर हेवा खोलामा कार्यरत १८ जना मजदूर र कर्मचारी बेपत्ता भएका छन् । अहिलेसम्म ४ जना मृत फेला परेका छन् । घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मृतक मजदूर तथा कर्मचारीप्रति इप्पानले गहिरो समवेदना व्यक्त गरेको छ ।

त्यसैगरि ताप्लेजुङ र पाँचथर जिल्लामा इङ्गुवा, इवा, काबेली र हेवा खोला नदी बेशिनमा बनेका आयोजनाहरु इङ्गुवा खोला १० मेगावाट, इवा खोला १० मेगावाट, काबेली बी-१ २५ मेगावाट, काबेली बी-१ क्यासकेड १० मेगावाट, हेवा खोला ए १५ मेगावाट, हेवा खोला ५ मेगावाट, लोअर हेवा खोला २२ मेगावाटका आयोजनामा बाढीले क्षति पुर्याएको इप्पानले उल्लेख गरेको छ ।

मनसुन सुरु भएको १/२ दिनमै बाढी पहिरोले यो हदसम्मको क्षति पुर्याएकोले आगामी दिनमा जलविद्युत प्रवर्द्धक र आयोजनामा खटिएका कर्मचारी मजदूरहरू सबैले उच्च सतर्कता अपनाएर काम गर्न पनि इप्पानले अनुरोध गरेको छ । त्यस्तै, सबै ‘कभरेज’ हुने गरि बीमा गर्न जलविद्युत प्रवर्द्धकहरूलाई इप्पानले आग्रह गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।