अनुदान रकम उपलब्ध गराउने सरकारको प्रतिबद्दतापछि बीमक संघले कृषि बीमालेख जारी गर्ने

0
Shares

निर्जीवन बीमा कम्पनीहरुको छाता संगठन नेपाल बीमक संघले मंगलबारदेखि कृषि सम्बन्धी बीमालेख जारी गर्न सुरु गरेको छ । यसअघि सरकारले ३ अर्ब भन्दा बढी अनुदान रकम उपलब्ध नगराएको भन्दै संघले गत जेठ ७ गतेदेखि कृषि बीमालेख जारी गर्न रोकेको थियो ।

नेपाल बीमक संघका महासचिव अशोक कुमार खड्काका अनुसार नेपाल बीमक संघले मंगलबारदेखि असार मसान्तसम्मको लागि बीमालेख जारी गर्ने कार्य सुचारु गर्ने निर्णय गरेको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बीमकहरुलाई केहि आंंशिक रकम उपलब्ध गराएको तथा जेठ ३० मा कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालको अध्यक्षतामा मन्त्रालयका दुबै सचिवहरुको संयुक्त सहभागीतामा बसेको बैठकले अनुदान रकम तत्काल उपलब्ध गराउने प्रतिवद्घता जनाएपछि बीमालेख बिक्री सुचारु गरिएको उनले बताए ।

अनुदान रकम पाउन बारम्बार पहल गर्दा समेत विभिन्न बहानामा अनुदान रोकिएको भन्दै बीमकहरुले बीमक संघको निर्णयमा २०८० जेठ ७ गतेदेखि कृषि सम्बन्धी बीमालेख जारी गर्न बन्द गरिएको थियो ।

संघले नेपाल सरकार , कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतका विभागहरु तथा नेपाल बीमा प्राधिकरणलाई कृषि बीमा वापतको अनुदान तत्काल उपलब्ध गराउन सहजता अपनाई पहल गरिदिन अनुरोध गरेको छ ।

साथै सरकारबाट उक्त समयभित्र अनुदान रकम प्राप्त नभएमा पुनः बीमालेख बन्द गर्न बाध्य हुने चेतावनी समेत संघले दिएको छ ।

बीमालेख जारी गर्न तथा दाबी भुक्तानी गर्न स्थगन गरेबाट बीमित तथा दाबीकर्ताहरुमा पर्न गएको असर प्रति नेपाल बीमक संघ क्षमायाचना समेत गरेको छ ।  सरकारले २०६९ सालदेखि कृषक र कृषिलाई प्राथमिकता दिई कृषि बीमाशूल्कमा क्रमशः अनुदान दिँदै आएको थियो । बीमा कम्पनीहरुले सरकारसँग २०७७ सालदेखि कृषि बीमाको अनुदान करिब ३ अर्ब रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको बताइएको छ ।

तीन अर्ब रूपैयाँ बाँकी रहेकोमा माछापालन बीमा अनुदान वापतको रकम २०७७ सालदेखि नै बीमा कम्पनीहरूले भुक्तानी पाएका छैनन् । यसबाहेक बाली बीमा अनुदान वापतको रकम २०७८ साल चैतदेखि र पशुपंक्षी बीमा अनुदानवापतको रकम २०७८ असोज देखि नै बाँकी रहेको संघले जानकारी दिएको थियो ।

नेपालमा आर्थिक बर्ष २०७०–७१ देखि कृषि तथा बाली बीमाको व्यवसायको सुरुवात भएको थियो । त्यसबेलादेखि नै सरकारले कृषि बीमामा ५० प्रतिशत अनुदान दिएको थियो । पछिल्लो पटक सरकारले गत आव २०७८–८९ को असोज ७ गतेदेखि बीमाशुल्कमा ८० प्रतिशत अनुदान दिन थालेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।