साना किसान र आरएमडिसी लघुवित्तले असार २४ देखि संयुक्त कारोबार थाल्ने

0
Shares

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले यहि असार २४ गतेदेखि एकीकृत कारोबार सञ्चालन गर्ने भएको छ ।

गाभ्ने–गाभिने (मर्जर) कार्य सम्पन्न भएपश्चात् दुई लघुवित्तले साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत वित्तीय कारोबार सञ्चालन गर्ने भएका हुन् । कम्पनी रजिष्ट्रारको कार्यालय, राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डबाट एकीकृत कारोबारका लागि अन्तिम स्वीकृति पाएसँगै दुई लघुवित्तको एकीकृत कारोबार सुरु हुने भएको हो ।

एकीकृत कारोबार सञ्चालका लागि कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वर काठमाडौंबाट असार ७ गते गाभ्ने गाभिने अन्तिम दिनसम्म कायम रहने दुबै संस्थाको सम्पूर्ण चलअचल सम्पत्ति तथा दायित्वहरु साना किसान विकास लघुवित्तले सकार्ने गरी प्राप्त स्वीकृति प्राप्त भएको थियो । सोभन्दा अघि नेपाल धितोपत्र बोर्डबाट असार ४ गते तथा नेपाल राष्ट्र बैंकबाट २०८० जेठ २४ गते अन्तिम स्वीकृति प्राप्त भएको थियो । यस्तै एकआपसमा मर्जर हुने सन्दर्भमा दुबै वित्तीय संस्थाले २०७९ चैत १० गते अलग अलग वार्षिक साधारण सभाबाट विशेष प्रस्ताव पारित गरेका थिए ।
आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरुले २०८० असार २४ गतेबाट साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रादेशिक र शाखा र इलाका कार्यालयको रुपमा कारोबार सञ्चालन हुने भएको छ । दुबै वित्तीय संस्थाको सम्पूर्ण हरहिसाब र तथ्याङ्कलाई एकल बैंकिङ्ग सफ्टवेयरमा समायोजन गर्ने प्रयोजनको लागि असार २२ शुक्रबार अपरान्ह ३ बजेदेखि २४ गते आइतबार बिहान ९ बजेसम्म दुबै संस्थाको सम्पूर्ण वित्तीय सेवा तथा कारोबार तथा अन्य सेवा बन्द रहने जनाइएको छ ।

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड विसं २०५८ असार २२ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई नेपाल राष्ट्र बैंकबाट २०७६ जेठ २१ गते “घ” वर्गको लघुवित्त वित्तीय संस्थाको रुपमा कारोबार गर्न स्वीकृति प्राप्त गरेको थियो । कम्पनीको केन्द्रीय कार्यालय काठमाण्डौं महानगरपालिका ११ बबरमहलमा रहेको छ ।

यस्तै कम्पनी रजिष्ट्रारको कार्यालयमा २०५५ कार्तिक १३ गते दर्ता भई नेपाल राष्ट्र बैंकबाट २०७६ बैशाख ३१ गते लघुवित्त वित्तीय संस्थाको रुपमा कारोबार गर्न स्वीकृति प्राप्त गरेको थियो । कम्पनीको केन्द्रीय कार्यालय काठमाण्डौं महानगरपालिका १० मध्य बानेश्वरमा रहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।