‘विनियोजन विधेयक २०८०’ बहुमतले पारित

0
Shares

संघिय संसदको प्रतिनिधि सभाले बुधबार विनियोजन विधेयक २०८० पारित गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरणले प्रस्ताव गरेको विधेयकमा मन्त्रालयगत छलफल तथा प्रधामन्त्री तथा सम्बन्धित मन्त्रीहरुको जवाफ पछि पारित भएको हो ।

उक्त विधेयक पारितका लागि मतदान नै भएको थियो । विधेयकको पक्षमा १४७ मत खसेको थियो भने विनियोजन विधेयक पारित गर्न नहुने पक्षमा १०८ मत खसेको थियो । बुधबार प्रतिनिधि सभावमा उपस्थित सांसदको संख्या २५५ रहेको थियो ।

सभामुख देवराज घिमिरेले विनियोजन विधेयक पारित भएको घोषणा गरीसकेका थिए । विधेयक पारित भएको घोषण लगत्तै नेकपा एमालेका सांसद महेश बर्तौलाले हुन्न भन्नेको भन्दा हुन्न भन्नेको आवाज चर्को सुनिएको भन्दै मत विभाजनको माग गरेका थिए । एमालेले माग गरे अनुसार सभामुखले मत विभाजन गराएका थिए ।

उक्त विधेयकले पारित भएसंगै सरकारले आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यका लागि संघिय सञ्चित कोषबाट व्यय हुने रकम विनियोजन गर्ने र खर्च गर्ने अधिकार पाएको छ । विनियोजन विधेयकमा संघिय सञ्चित कोषबाट मन्त्रालय तथा सरकारी निकायहरुलाई चालु, पुँजी तथा वित्तीय व्यवस्थापनका लागि विनियोजीत रकम उल्लेख गरीएको छ ।

सरकारले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट ल्याएको छ । सरकारले बजेटलाई चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५.२० प्रतिशत, पुँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड अर्थात् १७.२५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७ अर्ब ४५ करोड अर्थात् १७.५५ प्रतिशत बजेट विनियोजन गरेको छ ।

विनियोजन विधेयक पारित भएसंगै अर्थमन्त्रीले आर्थिक विधेयक माथि विचार गरियोस भन्दै संसदमा प्रस्ताव गरेका छन । आर्थिक विधेयक माथिको छलफल सुरु भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।