ब्रिटिश कलेजले सञ्चालनमा ल्यायो भर्चुअल रियालिटी ल्याब


काठमाडौँको थापाथलीस्थित द ब्रिटिश कलेज (टिबिसी) ले अत्याधुनिक भर्चुअल रियालिटी ल्याब सञ्चालनमा ल्याएको छ । कलेजले बुधबारदेखि यस्तो ल्याब सञ्चालनमा ल्याएको हो ।

विद्यार्थीहरूलाई अध्ययन तथा अनुसन्धान गर्न सहयोग पुर्याउने उदेश्यले टिबिसीले ल्याब सञ्चालनमा ल्याएको कलेजका प्रमुख कार्यकारी अधिकृत राजन कँडेलले जानकारी दिए । ल्याब सञ्चालनमा आएपछि विद्यार्थीहरुले अझै नयाँ–नयाँ कुराहरु सिक्न पाउने उनको भनाई छ ।

कलेजको गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धतामा भर्चुअल रियालिटी ल्याब महत्वपूर्ण कोसेढुङ्गा सावित भएको उनको भनाई छ ।

“कलेजले अत्याधुनिक भिआर ल्याब सञ्चालनमा ल्याएकोले म धेरै खुशी छु। यस प्रकारका अत्याधुनिक ल्यावमार्फत विद्यार्थीहरुले डिजिटल युगको लागि आवश्यक पर्ने सीप र ज्ञानको अभिवृद्धि गर्ने मौका पाउनेछन् । साथै, गुणस्तरिय शिक्षा सुनिश्चित गर्ने हाम्रो प्रतिबद्धतालाई यसले पनि पुष्टि गरेको छ,” कँडेलले भने ।

कार्यक्रममा बोल्दै फिन्टेक एसोसियसन अफ नेपालका अध्यक्ष सन्जिव सुब्बाले विद्यार्थीहरूको लागि प्रत्यक्ष सीप र ज्ञान प्राप्त गर्ने ठूलो अवसर मिलेको बताए ।

भिआर ल्याबमा अत्याधुनिक सप्टवेयर र आवश्यक उपकरणहरु जस्तै: भीआर हेडसेट, कन्ट्रोलर, सेन्सर, इमर्सिभ शैक्षिक एप्लीकेशन, लगायत रहेका छन् । यी सफ्टवेयर तथा उपकरणहरुको प्रयोगबाट विद्यार्थीहरूले भर्चुअल वातावरणमा आफ्नो अध्ययनको विशेष क्षेत्रमा पहुँच पुर्याउन सक्नेछन् ।

कलेजका उपप्रध्यापक डा. प्याट्रिक म्याक क्रुडडेनले भने, ब्रिटिश कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई अत्याधुनिक प्रविधिमार्फत अध्यापन गराइन्छ भन्ने कुरा ल्याबले स्थापित गराएको दाबी गरे ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।