सबै अटो पार्ट्सको आयातमा लेबलिङ अव्यवहारिक नाडा


नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले अटो सम्बन्धि तयारी माल वस्तुको बिक्री वितरणमा अनिवार्य गरिएको लेबलिङ अव्यवहारिक भएको भन्दै भन्सार विभागको ध्यानाकर्षण गराएको छ ।

शुक्रबार विभागका महानिर्देशक शोभाकान्त पौडेलसँग भेटी साउन १ गतेदेखि लागू हुने उक्त व्यवस्था व्यवहारिक भएको बताएको हो । नाडा अध्यक्ष ध्रुब थापाको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले विभागका महानिर्देशक पौडेलसँग बीरगञ्ज भन्सार कार्यालय, पर्साले तयारी मालबस्तु बजारमा विक्री वितरणका लागि पठाउनु अघि प्याकिङ्गमा आयातकर्ता र बजार वितरकको पूरा विवरण भएको लेवल लगाउनै पर्ने व्यवस्थाले समस्या उत्पन्न हुने बताएका हुन् ।

छलफलमा नाडा अध्यक्ष थापाले सो सम्बन्धमा जिज्ञासा राख्दै सूचनामा उल्लेखित विषय कुन क्षेत्रमा लागु गर्ने भनिएको हो प्रष्ट नभएको र अटोमोवाइल स्पेयर पार्ट्सका कतिपय बस्तुहरुमा यस्तो व्यवस्था लागु गर्न कठीनाई हुने बताएका थिए ।

छलफलमा नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतीले त्यसको कार्यान्वयमा आउने व्यवहारिक समस्या र अपठयाराका सम्बन्धमा चासो व्यक्त गरेका थिए ।

महानिर्देशक पौडेलले विदेशबाट धेरै नक्कली सामान पैठारी भई आउने भएकोले बैध व्यवसायलाई प्रोत्साहित गर्न र तस्करी तथा चोरी पैठारीलाई निरुत्साहित गर्न यस्तो व्यवस्था गर्न लागेको जवाफ दिएका थिए । अटोमोवाइल स्पेयर पार्ट्सको आयातमा पनि यो व्यवस्था लागु हुने भन्दै उनले स्पेयर पार्ट्सका केही बस्तुहरुमा यस्तो व्यवस्था गर्न कठीनाई हुने भए सुझावका आधारमा कार्यविधि तयार गरेर कार्यान्वायनमा ल्याउने आश्वासन दिएका थिए । विभागका महानिर्देशक पाडैलले यसको सम्पूर्ण व्यवस्थापन स्वयं पैठारीकर्ता र डिलरले गर्नु पर्ने भएकोले साधारण खुद्रा व्यवसायीहरुलाई कुनै अप्ठेरो र झण्झट नहुने प्रष्टोक्ती दिएका थिए ।

विभागका उपमहानिर्देशकहरु सेवन्तक पोखरेल र रमेश अर्याल समेतको उपस्थिति रहेको सो छलफलमा नाडाका सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल र केन्द्रीय कार्य समिति सदस्य प्रकाश कपुरी समेतको उपस्थिति थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।