नेपालको सेयर बजारभन्दा १२५ गुणा ठूलो बन्यो एप्पलको बजार पुँजीकरण

0
Shares

नेपालको समग्र सेयरबजारको पुँजीकरणका तुलनामा बहुर्राष्ट्रिय प्राविधिक कम्पनी एप्पल इन्कर्पोरेशनको मार्केट भ्यालुएशन १२५ गुणा ठूलो बनेको छ ।

जुलाई १ तारिखमा एप्पलको बजारपुँजीकरण ३ हजार ९३६ खर्ब ९५ करोड अर्थात् ३ ट्रिलियन अमेरिकी डलर पुगेको छ । असार १४ गते बिहीबार नेपालको बजार पुँजीकरण ३१ खर्ब ५० अर्ब १३ करोड रुपैयाँ बराबर थियो । यो बजार पुँजीकरण नेपाल स्टक एक्सेन्चमा सूचीकृत भएका २५७ कम्पनीहरुको समग्र पुँजीकरण हो ।

केन्द्रीय तथ्यांक कार्यालयले सार्वजनिक गरेको २०७८ को जनगणना अनुसार नेपालको जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार ५७८ छ । यो तथ्यांकलाई आधार मान्दा एप्पलको बजार पुँजीकरण प्रति नेपाली १ करोड ३४ लाख रुपैयाँ बराबर हुन आउँछ ।

यस अघि सन् २०२२ को जनवरी महिनामा पनि एप्पलको बजार पुँजीकरण ३ ट्रिलियन डलर पुगेको थियो । तथापि अमेरिकी केन्द्रीय बैंक–फेडरल रिजर्भले अपनाएको संकुचित मौद्रिक नीति र आक्रामक शैलीमा बढाएको ब्याजदरका कारण अमेरिकी सेयरबजारमा ठूलो गिरावट आएको थियो ।

जसको प्रभावबाट एप्पल इन्कर्पोरेशन पनि अछुतो रहन सकेन । फलस्वरुप सन् २०२२ को अन्त्यसम्ममा एप्पलको सेयरमूल्यमा गिरावट आउँदा बजार पुँजीकरण २ ट्रिलियन डलर भन्दा तल पुगेको थियो ।

तथापि सन् २०२३ मा अमेरिकी सेयरबजारमा देखिएको सुधारसँगै फिन–टेक तथा आइटी कम्पनीहरुको सेयर मूल्य बढेको छ । यससँगै एप्पल विश्वको दोस्रो ठूलो कम्पनी बनेको छ । एप्पल पछिको साउदी अरेबियाको आयल कम्पनी अरामकोको मार्केट भ्यालुएशन २.०८ ट्रिलियन पुगेको छ । हाल गुगलको माउ कम्पनी अल्फाबेट, अमेजन र एनभिडियाको बजार भ्यालुएशन १ ट्रिलियन अमेरिकी डलर रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।