त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले आजदेखि ‘रिफर्बिस’ ल्यापटप पास गर्न थालेको छ । विदेशबाट ल्याइएका रिफर्बिस ल्यापटपलाई रोक्ने यसअघिको निर्णय उल्टाएर रिफर्बिस कम्प्युटर, ल्यापट र पार्टसको भन्सार पास गराइएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको प्रमुखबाट अरुण पोखरेल बिदा भएसँगै आजदेखि निमित्त प्रमुख बनेका नारद गौतमले रिफर्बिस कम्प्युटर, ल्यापट र पार्टसको भन्सार पास गरिदिएका हुन ।
यसअघि भन्सार कार्यालयले यस्ता पुराना कम्प्युटर र पार्ट्सको आयात रोक्ने भन्दै बरामद गरेको थियो। यसअघि बरामद भएका पाँच सय थान ल्यापटप लिलामीमा गइसकेका छन्।
गुणस्तर एकिन नभएको मात्र होइन मूल्यांकनमै समस्या हुने भएपछि भन्सारले यस्ता उपकरणको भन्सार पास रोकिदिएको थियो। तर निमित्त बनेर आउने वित्तिकै गौतमले धमाधम पास गरिदिएका छन्।
कार्यालय स्रोतका अनुसार आजमात्र ७३ थान ल्यापटप पास भएका छन्। विदेशबाट रिबर्सिस ल्यापटप ल्याएर भन्सारमा न्यून मूल्य देखाएर न्यून राजस्व तिर्ने तर बजारमा नयाँकै मूल्यमा बिक्री वितरण गर्ने गरेको पाइएको थियो।
बजारमा शंकास्पद गतिविधि देखिएपछि पहिले राजस्व अनुसन्धान विभाग, भन्सार विभागको छलफलबाट त्यस्ता उपकरणको भन्सार पास रोक्ने निर्णय भएको थियो।तर अरुण पोखरेलले कार्यालय छाड्ने वित्तिकै अहिले धमाधम त्यस्ता ल्यापटप पास हुन थालेका छन्। पोखरेल अघिका प्रमुख महेश भट्टराईले पनि यस्ता उपकरणको आयातमा रोक लगाइदिएका थिए।
रिफर्बिस के हो ?
ल्यापटप रिफर्बिस भनेको एक पटक प्रयोग भइसकेको ल्यापटपलाई नवीकरण वा आवश्यक मर्मत गरेर फेरी प्रयोगमा ल्याउनु हो । ग्राहकले किनेको ल्यापटप सीमित अवधिपछि स्वतः बिग्रिन्छ । त्यसरी बिग्रेको ल्यापटपको पार्टपुर्जा परिवर्तन गरेर पुनः प्रयोग योग्य बनाइनु नै ‘रिफर्बिस’ हो ।
रिफर्बिस भनेको पुराना सामानहरुलाई मर्मत गरेर पुनः बिक्री गर्नु हो । अन्तर्राष्ट्रिय प्रचलन अनुसार त्यस्ता सामानमा रिफर्बिस जनाउने स्टिकर लगाएर मात्र बिक्री गर्नु पर्छ । तर, नेपालमा त्यस्ता सामानहरु आयात गर्न प्रतिबन्ध भएकोले स्टिकरबिनै ल्याइन्छ । त्यसैले ग्राहकहरुले नयाँ भनेर किन्छन् र ठगिन्छन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया