मल वितरण प्रभावकारी बनाउन सांसदहरूको जोड


बजारमा रासायनिक मलको अभाव हुन नदिन वितरण प्रणाली नै प्रभावकारी बनाउनुपर्नेमा सांसदहरूले जोड दिएका छन् । सिंहदरबारमा आज बसेको अर्थ समितिको बैठकमा बोल्दै सांसदहरूले मलको आयात र वितरणको व्यवस्थापन प्रभावकारी हुनुपर्ने बताएका हुन ।

सांसद तथा पुर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कृषिमा निर्भर अर्थतन्त्र भएको मुलुकका किसानले सधैँ मलको अभाव भोग्नुपर्ने अवस्थाको समाधान छिटो हुनुपर्नेमा जोड दिए । “सधैँ मलको अभाव देखिन्छ, आत्मनिर्भर अर्थतन्त्रको कुरा गर्दैगर्दा उर्वर जमिन सुक्खा बन्दै गएका छन्, कालोबजारी, वितरण प्रणालीजस्ता क्षेत्रमा समस्या देखिएका छन्, यसलाई छिट्टै टुङ्गो लगाऔँ, नीतिगत समस्या भए समाधान गरौँ र कानुनी प्रक्रिया फुकाउँदै जाऔँ”, उनले भने ।

त्यस्तै सांसद तथा पुर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मलको सम्बन्धमा देखिएका समस्या हल गर्न तत्कालीन र दीर्घकालीन उपाय अवलम्बन गरी कार्यान्वयनमा जानुपर्ने बताए । उनले हाम्रो मागको यकिन गरी आवश्यक परे आपूर्ति व्यवस्था सहज बनाउन कानुनी अड्चन भए त्यसलाई फुकाउँदै अगाडि बढ्नुपर्नेमा जोड दिए ।

त्यस्तै दीर्घकालीनरूपमा रासायनिक मल कारखानामा स्थापना गर्न सबै क्षेत्रमा छलफल गरी छिट्टै समाधानमा जानुपर्ने उनको भनाइ छ । बैठकमा सांसद गङ्गा कार्कीले बिचौलिया र वितरण प्रणाली व्यवस्थित बनाउन र नीतिगत तथा संरचनागत सुधारका काम पूरा गरी किसानलाई सहज मल पाउने व्यवस्थ गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै सांसद रामनाथ अधिकारीले मल अभावको तत्कालीन समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुहुँदै उपलब्ध रहेका मलको सही व्यवस्थापन र वितरणमा ध्यान दिन अनुरोध गरे ।

“छलफलमा आउँदा सबै ठीक सुनिन्छ, व्यवहारमा मल छैन, किन रहेछ, म आफैँ किसान हुँ, आफैँले मल पाएको छैन, मेरो भागमा १० किलो आउँछ रे यो हाम्रो कस्तो वितरण प्रणाली, यसलाई सुधार गर्नुपर्छ”, सांसद अधिकारीले भने ।

सांसद दीपक खड्काले रासायनिक मल वितरणमा बिचौलियाको प्रभाव रहेको उल्लेख गर्दै त्यसलाई तत्कालै समाधान गर्नुपर्ने बताए । त्यस्तै सांसद विराजभक्त श्रेष्ठले रासायनिक मलमा मात्रै निर्भर हुने कि हाम्रो परम्परागत र जैविक मलमा जानेबारे विचार गर्नुपर्ने बताए । सांसद नारायणी शर्माले बजार व्यवस्थापन अझै प्रभावकारी बनाई असमान वितरण प्रणाली सुधार हुनुपर्ने बताए ।

बैठकमा सांसद सूर्य थापाले मलको व्यवस्थापनका सम्बन्धमा बजेटको सुनिश्चितता अझै हुन नसकेको टिप्पणी गरे । बैठकमा ज्येष्ठ सदस्यका रूपमा समितिको अध्यक्षता गर्नुभएका सांसद विनोद चौधरीले मल सर्वसाधारण नागरिकसँग प्रत्यक्ष जोडिएको विषयवस्तु भएकाले सरकारले समयमै यसको समाधानमा ध्यान दिनुपर्ने बताए ।

रासायनिक मलको आपूर्ति, जैविक तथा प्राङ्गारिक मलको अवस्थाबारे अध्ययन तथा कार्यान्वयन, तस्करी तथा बिचौलियाको समाधानजस्ता क्षेत्रमा सरकारको ध्यान जानुपर्ने सांसद चौधरिले बताए ।

खरिद प्रक्रिया छोट्याऔँ : मन्त्री भुसाल

कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसालले मल अभाव हुन नदिन खरिद प्रक्रियालाई छोटो बनाउनुपर्ने बताए ।

बैठकमा मन्त्री भुसालले अहिलेको खरिद प्रक्रियालाई सहज र छोटो बनाउन आवश्यक ऐन र नियमावलीमा संशोधन गर्नुपर्ने, खरिद प्रक्रिया नियमित हुन जिटुजीमै जानुपर्ने तथा मल अभाव हुन नदिन बजेट समयमै सुनिश्चित हुनुपर्नेमा जोड दिए ।

त्यस्तै सरकार रासायनिक मलका साथै जैविक मलको व्यवस्थाका सम्बन्धमासमेत अगाडि बढेको मन्त्री भुसालले जानकरी दिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।