धितोपत्र बोर्डले थप दुई हाइड्रोपावरलाई दियो ३७ लाख कित्ता आईपीओ बिक्री अनुमति

0
Shares

पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले दुई हाइड्रोपावर कम्पनीलाई ३७ करोड मूल्यको ३७ लाख कित्ता प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) को बिक्री अनुमति दिएको छ ।

बोर्डले चिर्खुवा हाइड्रोपावर लिमिटेड र माथिल्लो मैलुङ्गखोला जलविद्युत लिमिटेड दुबै कम्पनीलाई असार २० गते बुधबार आईपीओ बेच्न अनुमति दिएको हो । दुबैले आयोजना प्रभावित स्थानीय बासिन्दा र सर्वसाधारणका लागि सेयर बिक्रीको अनुमति पाएका हुन् । चिर्खुवा हाइड्रोपावरले आईपीओ निष्कासन गर्न २०७९ कार्तिक १७ गते नेपाल धितोपत्र बोर्डमा निवेदन निवेदन दिएको छ । 

बोर्डका अनुसार चिर्खुवा हाइड्रोपावर लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १२ करोड मूल्यको १२ लाख कित्ता सेयर बिक्रीको अनुमति पाएको हो । कम्पनीले जारी पुँजीको ३० प्रतिशत बराबरको सार्वजनिक निष्कासन गर्न लागेको हो । जारी पुँजीको ७० प्रतिशत बराबरको २८ करोड भने संस्थापकहरुबाट चुक्ता भैसकेको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

कम्पनीले भोजपुरमा ४.७ मेगावाट अपर चिर्खुवा जलविद्युत आयोजना र भोजपुर मै ४.०६ मेगावाटको लोअर चिर्खुवा जलविद्युत आयोजना निर्माण गरिरहेको छ । 

यस्तै माथिल्लो मैलुङ्गखोला जलविद्युत लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २५ करोड मूल्यको २५ लाख कित्ता सेयर बिक्रीको अनुमति पाएको हो । कम्पनीले जारी पुँजीको २५ प्रतिशत बराबरको सार्वजनिक निष्कासन गर्न लागेको हो । जारी पुँजीको ७५ प्रतिशत बराबरको ७५ करोड भने संस्थापकहरुबाट चुक्ता भैसकेको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

सानिमा समूह अन्तर्गतको माथिल्लो मैलुङखोला जलविद्युत लिमिटेडले आईपीओ निष्कासन माग गर्दे २०७९ फागुन ३ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो । कम्पनीले रसुवामा १४.३० मेगावाटको माथिल्लो मैलुङखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

यसअघि अघिल्लो हप्तामै यी दुई बाहेक बोर्डले पाँच कम्पनीलाई सेयर बिक्रीको अनुमति दिएको थियो । यससँगै एक सातामै ७ कम्पनीले आईपीओ बिक्रीको अनुमति पाएका हुन् । एकैपटक ठूलो संख्यामा सेयर बिक्रीको अनुमति पाएसँगै प्राथमिक बजारमा आईपीओको बाढी लाग्ने भएको छ ।

गत साता मात्रै बोर्डबाट हाथवे इन्भेष्टमेन्ट, मिड सोलु हाइड्रोपावर, माण्डू हाइड्रोपावर, सन् नेपाल लाइफ इन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स, चिर्खुवा हाइड्रोपावर र माथिल्लो मैलुङ्गखोला जलविद्युत लिमिटेडले आईपीओ बेच्न अनुमति पाएका हुन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।