गोरखाका पाँच स्थानीय तहद्वारा बजेट स्वीकृत


गोरखा जिल्लाभित्रका पाँच स्थानीयको आगामी आर्थिक वर्ष २०८०\०८१ बजेट स्वीकृत भएको छ । जिल्लाको बारपाक सुलिकोट , अजिरकोट, भीमसेन थापा, सिरानचोक र सहिद लखन गाउँपालिकाको आगामी आवको बजेट पारित भएको हो ।

बारपाक सुलिकोटले आगामी आव २०८०\०८१ का लागि कूल ६० करोड ३९ लाख ६९ हजार रुपैयाँ बराबरको बजेट गाउँसभाबाट स्वीकृत गरिसकेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए ।

त्यस्तै सहिद लखनले ६३ करोड २० लाख १० हजार रुपैयाँ बराबरको बजेट गाउँसभाबाट स्वीकृत गरेको छ भने सिरानचोकले असार  ७९ करोड ८४ लाख ५५ हजार ६ सय रुपैयाँ बराबरको बजेट घोषणा गरी पारित गरेको गाउँपालिकाले जनाएको छ । जिल्लाको अजिरकोटले आगामी आवका लागि रु ४९ करोड ३४ लाख ९३ हजार बराबरको बजेट पारित गरेको गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले जानकारी दिए । भीमसेन थापाले रु ५५ करोड ८४ लाख ३० हजार चार सयको बजेट ल्याएको छ ।

सो गाउँपालिकाले यही असार १० गते नीति तथा कार्यक्रम र बजेट एकैदिन गाउँसभाबाट स्वीकृत गरेको गाउँपालिका अध्यक्ष लोकप्रसाद बङ्जरा (अक्कल) ले जानकारी दिए । पाँचवटै स्थानीय तहहरुले असार १० गतेभित्रै आगामी आवको बजेट नीति तथा कार्यक्रम पारित गरेका हुन् ।

जिल्लाको ११ स्थानीय तहमध्ये छ स्थानीय तहरुको बजेट भने स्वीकृत गर्न बाँकी रहेको छ । गोरखा र पालुङटार नगरपालिका, आरुघाट, चुमनुब्री, धार्चे र गण्डकी गाउँपालिकाको बजेट पारित हुन बाँकी रहेको हो ।

गोरखाले आवका लागि कूल एक अर्ब ३२ लाख ६५ हजार रुपैयाँको बजेट नगरसभामा पेश गरेको नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिए । त्यस्तै पालुङटार नगरपालिकाले ८३ करोड ८७ लाख २५ हजार रुपैयाँ, आरुघाटले ५८ करोड १६ लाख १७ हजार सात सय रुपैयाँको बजेट गाउँसभामा पेश गरेको छ ।

उत्तरी गोरखाको चुमनुब्रीले पनि आगामी आवको बजेट स्वीकृत हुन बाँकी रहेको जनाएको छ । आजदेखि सुरु हुने गाउँसभाले आगामी आवको बजेट पारित गर्ने तयारी भइरहेको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिए । धार्चेले ४८ करोड ९१ हजार पाँच सय रुपैयाँ बराबरको बजेट ल्याएको छ भने गण्डकी गाउँपालिकाले ६१ करोड ७२ लाख रुपैयाँ बजेट गाउँसभामा पेश गरेको छ । गाउँसभाबाट बजेट पारित हुन बाँकी रहेका सबै स्थानीय तहहरुले असारभित्रै बजेट स्वीकृत भइसक्ने जनाएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।