सहकारीको समस्या ठूलो छैन : देउराली बहुउद्देश्यीय


देउराली बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष रविन्द्र चौलागाँइले बैंकबाट लिएको कर्जाको विषय र सहकारीको बचतकर्ताहरुको रकम फिर्ताको विषयलाई लिएर केही दिनदेखि कतिपय सञ्चार माध्यममा फैलाएको अफवाहप्रति आपत्ति जनाएका छन् ।

उनले बजारमा छरिएका अर्नगल प्रचार र भ्रमकोपछि नलाग्न सबै बचतकर्ता तथा वित्तिय संस्थाहरुलाई उनले अनुरोध गरेका हुन् । अध्यक्ष चौलागाइले विज्ञप्तीमा ६ महिना भित्र बचतकर्ताहरुको साँवा र ब्याज तिर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

बचतकर्ताहरुको बचत रकम फिर्ताको कार्ययोजना बनाइ उनले सहकारी विभागलाई पेश गरिसकेको बताएका छन । बचतकर्ताहरुको बचतको रकम फिर्ताको विवरण हेर्दा सहकारीमा त्यति ठुलो समस्या नभई परिस्थीतिजन्य समस्या रहेको बुझिएको छ ।

सहकारीमा बचतकर्ताहरुको २०८० असार अन्तिम सातासम्म साँवा र ब्याज सहित फिर्ता गर्न बाँकी रकम ५४ करोड मात्रै रहेको देखिएको छ । अध्यक्ष चौलागाँइले जारी गरेको विज्ञप्तीमा देशका विभिन्न ठाउँहरु जस्तै झापाको साविक शिवगन्ज, सुनसरीको पूर्वकुशाहा, काठमाण्डौको साविक टल्कडुडे भन्ने ठाउँमा जग्गाहरु रहेको देखिएको छ ।

ती जग्गाहरुको बजार मुल्य ७० करोड रुपैयाँ बराबरको भएपनि हालको विषम परिस्थीतिका कारण बेचविखन गर्न केही अप्ठेरो परेको विज्ञप्तीमा उल्लेख छ । देउरालीले आफनो विज्ञप्तीमा बचतकर्ताले माग गरे बमोजिम सबै रकम यही श्रावण देखि पुष मसान्तसम्ममा भुक्तानी तथा बचतफिर्ता गर्ने, पाकेको ब्याज साउन मसान्तसम्म भुक्तानी गर्ने उल्लेख गरेको छ ।

त्यसैगरी विज्ञप्तीमा प्रत्येक महिना बचत फिर्ताको विवरण सहकारी विभाग र प्रदेश रजिष्टारको कार्यालयमा पेश गर्ने, बचत फिर्ता गर्दा कार्ययोजना बमोजिम सबैभन्दा कम जम्मा गरेका सदस्यहरुलाई प्राथमिकता दिने प्रतिबद्धता जाहेर गरेको छ । केही ठुला बचतकर्ताहरुलाई उनीहरुले चाहेमा उचित मुल्यमा जग्गाहरु समेतबाट बचत फिर्ता गर्ने बताएका छन् ।

देउराली सहकारीका अध्यक्ष लगायत उनको टीम भागको छैन, ब्यवहार मिलाउँदै छन्, सो कुरामा ठुक्क भए हुने उनले बताएका छन् । उनले संस्थालाई अप्ठेरो परेका बेला आर्थिक कारोबारमा जोडिएर ठुलो मात्रामा नगद र सम्पती लिने, अनुचित लेनदेनको कारोबार गर्ने, राजनीतिक आडमा उल्टै धम्क्याउने ब्यक्तिहरु समेतलाई चाँडै सम्पर्कमा आइ संस्थाको तिर्न बाँकी रकम चुक्ता गर्न अनुरोध गरेका छन् ।
उनले त्यस्ता ब्यक्तिहरुले संस्थामा तिर्न बाँकी नतिरे सहकारी ऐन नियम अनुसार कार्वाहीको प्रक्रियामा जाने बताएका छन् । उनी ३० भन्दा बढी ठुला कर्जा लगेकाहरुलाई अविलम्ब भुक्तानी गर्न आग्रह गरेका छन् । सहकारीले कर्जा प्रवाहमा ठुलो रकम गएको र सो रकम उठ्दा कुनै खालको समस्या नआउने समेत बताएका छन् ।

देउरालीका बचतकर्ताको बाँकी बचत फिर्ता नगरुन्जेलसम्म अध्यक्ष चौलागाइ लगायत सञ्चालक समिति र परिवारको सम्पति लिलाम नगर्न सहकारी विभागले पौष मसान्तसम्मको समय दिइएको पनि उनले बताए । सो समय भित्र कुनैपनि बैक तथा वित्तिय संस्था, ब्यक्तिले आफना सम्पती लिलाम गरेमा भोगचलन गर्न नदिने, बैंकहरुविरुद्ध आन्दोलनमा उत्रने बताएका छन् ।

आफनो स्वार्थ र बैकको लक्ष्य पुरा गर्ने उदेश्यले चौलागाइलाई ६.५० प्रतिशतमा गरेको लगानी अहिले १६ प्रतिशतसम्म ब्याज र पेनाल्टी थपि लीलाम गरेमा सयौं व्यवसायी र हजारौं बचतकर्ता सडक आन्दोलनमा उत्रने उनले बताएका छन् । चौलागाइ र देउरालीबाट मिटब्याजीले लिएको अनुचित रकम फिर्ता गर्न उनले आग्रह गरेका छन् । –रासस

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।