चन्द्र ढकालको मौलाकालिका केवलकारले रिर्सोट निर्माणका लागि साढे १ अर्ब ऋण लिँदै

0
Shares

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको लगानी रहेको मौलाकालिका केवलकार प्रालिले चारतारे रिसोर्ट निर्माणका लागि १ अर्ब ५० करोड बराबरको ऋण लिने भएको छ ।

गत बैशाख १ गतेदेखि नवलपुरको गैंडाकोटदेखि मौलाकालिका मन्दिर जोड्ने गरी मौलाकालिका केवलकार सञ्चालनमा आएको थियो । मौलाकालिका केवलकारले ऋण लिनका लागि रेटिङ एजेन्सी इक्रा नेपालले १ अर्ब ५० करोड बराबरको दीर्घकालीन कर्जाका लागि रेटिङ्ग गराएको छ । इक्राले कम्पनीलाई ‘डबल बी माइन्स रेटिङ’ प्रदान गरेको छ ।

एफएनसीसीआई अध्यक्ष समेत रहेका ढकालको आईएमई ग्रुपले मौलाकालिका केवलकारका साथै लुम्बिनी केवलकार र काठमाण्डौंमा रहेको चन्द्रागिरी केवलकारमा समेत लगानी गरेको छ । पछिल्लो समयमा नेपालमा धार्मिक पर्यटनको विकासका लागि केवलकारको निर्माण गर्ने प्रचलन बढ्दै गएको छ ।

सन् २०१६ मा निर्माण सुरु भएको मौलाकालिका केवलकार सन् २०२३ को अप्रिल महिनादेखि सञ्चालनमा आएको छ । केवलकारमा यात्रा गर्ने र मौलाकालिका मन्दिर दर्शन गर्ने दर्शनार्थीहरुलाई आरामदायी वसोवास प्रदान गर्ने उद्देश्यले केवलकार परियोजनाहरुले रिर्सोट निर्माण गरिरहेका छन् । सन् २०२५ को मार्च महिनामा मौलाकालिका केवलकारले निर्माण गरिरहेको चार तारे रिर्सोट सञ्चालनमा आउने विश्वास गरिएको छ । सन् २०२३ को जुन महिनासम्म रिसोर्ट निर्माणको ४० प्रतिशत कार्य सम्पन्न भएको छ ।

मौलाकालिका केवलकारमा चन्द्र प्रसाद ढकाल र हेमराज ढकालको लगानी रहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।