विश्वभर एक करोड कप चिया बेचिसकेको नेपाल टि कलेक्टिभले नेपालमा पनि थाल्यो कारोबार

0
Shares

नेपालमा पनि उत्कृष्ट चियाको स्वाद पस्कने लक्ष्यका साथ तीन युवा व्यवसायीहरु मिलेर नेपालमा पनि कारोबार सुरु गरेका छन् । अमेरिका सहित विश्वभर १ करोड कप चिया बेचिसकेको नेपाल टि कलेक्टिभले नेपालका चिया प्रेमीमाझ उत्कृष्ट नेपाली चिया ल्याउँदै नयाँ आर्थिक वर्षदेखि आफ्नो सेवा सुरू गरेको हो ।

नेपाल टि कलेक्टिभले विश्वव्यापी रुपमा विस्तार गर्ने परिकल्पना अनुरुप आफ्नो सेवा नेपालमा ल्याएको हो । नेपाली बजारमा आफ्नो चिया ल्याउनका लागि नेपाल टि कलेक्टिभ निकै उत्साहित रहेको बताइएको छ । चिया प्रेमीले हाल नेपाल टि कलेक्टिभका चिया अब दराज वा वेबसाइट नेपाल टि कलेक्टिभ डट कम डट एनपीबाट अनलाइन माध्यमबाट चिया खरिद गर्न सक्नेछन् । छिट्टै आउटलेट स्थापना गरेर सेवा दिइने लक्ष्य कम्पनीको छ ।

अनलाइन माध्यमबाट सेवा सुरु गरेसँगै नेपालका धेरै चिया प्रेमीले नेपालले दिनसक्ने उत्कृष्ट चियाको स्वाद लिने अवसर पाउने भएका छन् । नेपाल टि कलेक्टिभले हजारौं विदेशी ग्राहकहरुलाई विशिष्ट नेपाली चियाको ताजगी र दुर्लभ स्वादहरू अनुभव गराइसकेको छ ।

नेपाल टि कलेक्टिभमा हाल ९ लाख ३५ हजार डलर लगानी पुगेको छ । सन् २०१६ मा ६ लाख अमेरिकी डलरमा स्थापनामा भएको कम्पनीमा पछिल्लो ६ वर्षमा ३ लाख ३५ हजार डलर वृद्धि भएको सह–संस्थापकका अमिगो खड्काले जानकारी दिए ।

अमेरिकाको न्यूयोर्कमा स्थापित नेपाल टि कलेक्टिभले सन् २०१६ देखि नेपालका अर्गानिक, साना तथा सामुदायिक खेतबाट प्राप्त अर्थोडक्स नेपाली चिया संयुक्त राज्य अमेरिका लगायत ४२ भन्दा बढी देशका ग्राहकलाई वितरण गर्दै आएको छ । चिया उद्योगमा हाबी रहेको पुराना तथा शोषक प्रवृत्तिका सप्लाइ चेनलाई तोड्ने अवधारणाका साथ नेपाल टि कलेक्टिभ स्थापना भएको थियो । चिया उत्पादकका दोस्रो तथा तेस्रो पुस्ताका प्रतिनिधिको रुपमा निश्चल बाँस्कोटा र प्रतिक रिजालको नेतृत्वमा गरेका छन् ।

सह–संस्थापक निश्चल बाँस्कोटा नेपाली चियालाई विश्वभर नै यसको समृद्ध र नौलो स्वादका लागि निकै प्रशंसा गरिने बताउँदै भन्छन्–“विशिष्ट गुणस्तरको प्रमाण स्वरुप हाम्रा लुज–लिफ चिया र अर्गानिक मिश्रणले १२ वटा अन्तर्राष्ट्रिय पुरस्कार पाएका छन् । न्यूयोर्क टाइम्स र फोब्र्समा प्रस्तुत भएसँगै हामीले नेपाली चियाको पहिचानका साथै अन्तर्राष्ट्रिय ग्राहकहरूसँग विश्वासको सम्बन्ध बनाउन सफल भएका छौं ।”

नेपाली चियाको स्वादको सराहना गने बेला आएको छः अमिगो खड्का

नेपाल टि कलेक्टिभमा सह–संस्थापकका रुपमा जोडिएका अमिगो खड्का नेपाली चिया जगतलाई उकासेर हाम्रो आफ्नो चियाको स्वादको सराहना गर्न सिक्ने बेला आएको बताउँछन् ।

नेपाली चियालाई विश्वव्यापीको घरेलु ब्रान्ड बनाउने सपनाका साथ अनुभवी विज्ञ अमिगो खड्का सह–संस्थापकका रुपमा जोडिएका छन् । उनले वाल स्ट्रिटमा काम गर्नुका साथै विभिन्न व्यवसाय स्थापना तथा विस्तारसम्मको अनुभव बटुलेका छन् ।

“हामी नेपाली चिया प्रेमीसँग पनि यस्तै सम्बन्ध बनाउन चाहन्छौँ । हाम्रो संस्कृतिमा सिटिसि चिया हाबी भएको छ र धेरै नेपाली नेपालका अर्थोडक्स चियाका वास्तविक गुण र गुणस्तरबाट टाढिएका छन् ।” सह–संस्थापक खड्का थप्छन् –“आखिर स्कोटिस्हरूको स्कच, फ्रेन्चहरूको वाइन र स्विसहरूको चकलेट भनेजस्तै हामी नेपालीहरूको लागि भने त्यो चिज चिया नै हो ।”

नेपाल टि कलेक्टिभले आफ्ना किसानलाई सिधै विश्वका ग्राहकसँग जोड्दै ग्राहक(उत्पादक दूरी निकै नै छोटो पार्नेछ । नेपाली चिया व्यवसायीसँग विश्वव्यापी बजारको पहुँच नभएकाले दैनिक दुई डलरभन्दा कम आम्दानी हुनेगरी बिचौलियाहरूको निकै लामो सप्लाइ चेनमा भरपर्न बाध्य छन् ।

उच्च दक्ष तथा अनुभवी चिया उत्पादकहरूसँग काम गर्दै नेपाल टि कलेक्टिभले कालो, सेतो, हरियो र उलोङ चियाका साथै जडीबुटी सहितका मिश्रणको उत्कृष्ट विविधता प्रस्तुत गरेको छ । चियाको सूचीमा कञ्चनजङ्घा नोइर (हिमालयन सनराइज) र कुमारी गोल्ड जस्ता पुरस्कार विजेता कालो चियादेखि सोलुखुम्बुमा उत्पादन भएका टप अफ द वल्र्ड टि जस्ता दुर्लभ कालो चिया र जिब्रोमा रेशमी स्पर्शका साथै स्वादहरूको जटिलताका लागि व्यापक रूपमा प्रशंसित ह्वाइट प्रकाश जस्ता पुरस्कृत सेतो चिया सम्मका चिया रहेका छन् ।

चिया पर्यटन र टि टेस्टिङ अनुभवले नेपालका चिया प्रेमीलाई नेपाली अर्थोडक्स चियाको परिष्कृत स्वादको आनन्द लिँदै नेपालका विश्वपरिचित चिया पारखी र चिया निर्माताहरूसँग परिचित हुने अवसर प्रदान गर्ने बताइएको छ ।

नेपाल टि कलेक्टिभ के हो ?

न्यूयोर्क र काठमाडौंमा संस्थापित नेपाल टि कलेक्टिभ नेपालका चिया उत्पादकका पहिलो तथा दोस्रो पुस्ताको नेतृत्वमा रहेको सार्वजनिक हितका लागि कार्यरत संस्था हो ।

लुज–लिफ अर्गानिक चिया सिधै नेपालका साना तथा दिगो खेतबाट मगाएर नेपाल टि कलेक्टिभले उत्पादन स्थल मै प्याकेज गरिएका सबै भन्दा ताजा नेपाली अर्थोडक्स चिया विश्वभर वितरण गर्ने गरेको छ ।

नेपाल टि कलेक्टिभले किसान र चिया प्रेमीबीचको सामुदायिक सम्बन्धलाई बलियो बनाउन पारदर्शी प्रत्यक्ष(उपभोक्ता पद्धतिको प्रयोग गर्दछ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।