बैंकिङमा लगानीकर्ताको लगानी थपेपछि नेप्सेमा लगातार चौथो दिन बढोत्तरी

0
Shares

चालु आर्थिक वर्ष सुरु भएकाले बैंकिङ्ग प्रणालीमा रहेको अधिक तरलताले सेयर बजार उकालो लाग्ने क्रमले बुधबार चौथो कारोबार दिन पनि निरन्तरता पाएको छ । अधिकांश उपसमुहगत सूचक घटेपनि बैंकका सेयरमा लगानीकर्ताहरु लगानी थप्न तयार भएपछि बुधबार बजार सूचक दोहोरो अंकले बढेको हाे ।

स्टकका अनुसार बुधबार सेयर बजारमा लगातार चौथो कारोबार दिन बढेको हो । बुधबार ११.१७ सहित चार दिनको बीचमा बजार ८०.३१ अंकले बढेको हो । गत बुधबार २५.३१ अंकले बढेको बजारममा गत बिहीबर १२.६२ अंकको गिरावट आएयता आइतबारदेखि नेप्से उलकालो यात्रामा छ ।

बुधबार नेप्से ११.१७ अंकले बढेर २१६५.२५ को विन्दुमा पुगेको छ । बजार पुँजीकरणमा ठूलो हिस्सा रहेको बैंकिङ क्षेत्रमा लगानीकर्ताको आकर्षण कायमै रहँदा ब्यापार सूचक यसदिन सर्वाधिक ४.८२ प्रतिशतले बढेको छ । १३ उपसमुहगत परिसूचकमध्ये बुधबार पाँच वटा बढेको छ भने ८ वटा घटेको छ । बैंकले बजारलाई लिड गर्ने हुँदा धेरै उपसमुहगत सूचक घटेपनि बजार दोहोरो अंकले बढेको हो । जलविद्युत, होटल तथा पर्यटनमुलक, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त, लगानी, फाइनान्स, अन्यको अधिकांश उपसूचकमा गिरावट आएको छ । व्यापार ४.८३ प्रतिशतले बढेको बजारमा बैंकिङ २.३१ प्रतिशत, विकास बैंक १.२२ प्रतिशत र उत्पादनमूलक उपसूचक १.१४ प्रतिशतले बढेको छ ।

बुधबार ८६ लाख ७४ हजार १०० कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ३४ करोड ८७ लाखको कारोबार भएको छ । ५१ हजार ४४५ वटा संख्यामा उक्त सेयरहरु खरिद बिक्री भएका हुन् । मंगलबार ८६ लाख ७६ हजार कित्ता सेयर ३ अर्ब ५४ करोड ८८ लाख रुपैयाँको कारोबार भएको थियो ।

आजको बजारमा मर्जरपछि कारोबार खुलेको युनाइटेड अजोड इन्स्योरेन्सको सर्वाधिक २३ करोड ५७ लाख ४५ हजार रुपैयाँको कारोबार भएको छ । यस्तै एनआईसी एशिया बैंकको १४ करोड ७० लाख ८२ हजार रुपैयाँ र शिवम् सिमेन्टको १३ करोड ८८ लाख ७६ हजार रुपैयाँको कारोबार भएको छ । फस्ट माइक्रोफाइनान्सको ८ करोड ६७ लाख ८४ हजार र हिमालयन लाइफ इन्स्योरेन्सको ८ करोड ४२ लाख ४ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । आजको बजारमा कारोबार कित्ताका आधारमा कुमारी बैंकको ४ लाख ९२ हजार ९०७ कित्ता कारोबार हुँदा युनाइटेड अजोड इन्स्योरेन्सको २ हजार १६० वटा कारोबार भएको छ ।

आजको बजारमा बिपिडब्लु लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेर १४९० रुपैयाँ ७० पैसा पुगेको छ । यस्तै विशाल बजार कम्पनीको सेयरमूल्य ७.१६ प्रतिशत, युनाइटेड अजोड इन्स्योरेन्सको ६.५५ प्रतिशत, बोटलर्स नेपाल तराइको ६.०५ प्रतिशत र सिटिजन बैंकको सेयरमूल्य ५६.५७ प्रतिशतले बढेको छ ।

बुधबार एनआईबीएल समृद्धि फण्ड–२ को इकाइमूल्य ९.६४ प्रतिशतले घटेर ८ रुपैयाँ ६ पैसामा झरेको छ । यस्तै १२ प्रतिशत गुडविल डिबेञ्चर २०८३ को ७.७३ प्रतिशत, सनराइज फोकस्ड इक्वीटी फन्डको ५.६९ प्रतिशत, १० प्रतिशत प्राइम डिबेञ्चर २०८८ को ४.४८ प्रतिशत र सिभिल बैंक डिबेञ्चर २०८८ को ३.९५ प्रतिशतले घटेको छ ।

सूचीकृत कम्पनीतर्फ श्रृजनशील लघुवित्तको ३.८६ प्रतिशत, सामलिङ पावर कम्पनीको ३.८३ प्रतिशत, शुभव पावरको ३.६३ प्रतिशत र सुपर मादी हाइड्रोपावरको ३.४१ प्रतिशतले मूल्य घटेको छ ।

बुधबारको कारोबारपछि कुल बजार पुँजीकरण १४ अर्ब ४१ करोड ६७ लाख रुपैयाँले बढेर ३१ खर्ब ८१ अर्ब ८८ करोड ९९ लाख रुपैयाँ पुगेको छ । मंगलबार पुँजीकरण ३१ खर्ब ६५ अर्ब ४७ करोड ३२ लाख रुपैयाँमा समेटिएको थियो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।