अप्पर लोहोरे खोलाको पहिलो चरणको आईपीओ बाँडफाँड, ८४% लाई सेयर

0
Shares

अप्पर लोहोरे खोला हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीमा बिक्री गरेको आईपीओ मंगलबार बाँडफाँड भएको छ । आईपीओमा आवेदन गरेका ८४ प्रतिशतले कम्पनीको सेयर हात पारेका छन् ।

बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलका अनुसार असार ७ देखि २१ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीमा बिक्री गरेको आईपीओ साउन २ गते मंगलबार बाँडफाँड गरिएको हो । धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम रितपूर्वक आवेदन दिएका १९ हजार ८८२ जना आवेदकहरूमा साउन २ गते माग बमोजिमको कित्ता आईपीओ बाँडफाँड गरिएको हो । बाँडफाँडमा ४ जनाले ११ कित्ताका दरले र १९ हजार ८७८ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् ।

बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलका अनुसार आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीबाट कुल २५ हजार ३०६ वटा आवेदन मार्फत ६ लाख १८ हजार ३३० कित्ताको माग परको थियो । जसमध्ये रितपुर्वक नपरेको (सि आश्वा सदस्यबाट अस्वीकृत सहित) १ हजार ६६५ वटा आवेदन मार्फत परेको ४६ हजार ५१० कित्ताको माग रद्द भएको छ । यसरी रद्द भई बाँकी रहेका २३ हजार ६४१ वटा आवेदन मार्फत परेको ५ लाख ७१ हजार ८२० कित्ताको माग सदर गरी बाँडफाँडमा सहभागि गराइएको थियो । सदर आवेदक २३ हजार ६४१ मध्ये ८४.१० प्रतिशत अर्थात १९ हजार ८८२ जनाले सेयर पाएका हुन् । सदर भएपनि ३ हजार ७५९ जनाको हात भनेखाली भएको छ ।

सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने १ लाख ९८ हजार ८२४ कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको थियो । आयोजना प्रभावित क्षेत्र दैलेखका स्थानीयले भने साउन ५ गते शुक्रबारसम्म आईपीओमा आवेदन दिन सक्नेछन् ।

आयोजना प्रभावित स्थानीयमा आईपीओ बाँडफाँडपछि दोस्रो चरणमा कम्पनीले सर्वसाधारणमा जारी हुने १९ लाख ८८ हजार २३८ आईपीओमध्ये वैदेशिक रोजगारीमा रहेकालाई बिक्री गरेको घटाएर १७ लाख ८९ हजार ४१२ कित्ता सेयर निष्कासन गर्नेछ । कम्पनीले जारी पूँजी ५० करोड ९८ लाख ४ हजारको १० प्रतिशत अर्थात् ५ करोड ९ लाख ८० हजार ४०० बराबरको ५ लाख ९ हजार ८०४ कित्ता आईपीओ आयोजना प्रभावित स्थानीय वासिन्दाहरूका लागि निष्कासन गरेको छ ।

आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा केयर रटिङ्ग नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।

कम्पनीले दैलेखमा ४ मेगावाट क्षमताको माथिल्लो लोहोरे साना जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको कुल अनुमानित लागत ९४ करोड ७२ लाख १७ हजार रहेको छ ।  प्रतिमेगावाट अनुमानित लागत २३ करोड ६८ लाख ४ हजार रहेको आयोजनाको वैशाख मसान्तसम्म आयोजनाको ८७ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।