सुन प्रकरण छानबिनका लागि समिति गठन 

0
Shares

भन्सार विभागले बिना जाँच करिब एक सय केजी सुन बाहिरिएको प्रकरणको छानबिनका लागि छानबिन समिति गठन गरेको छ ।
भन्सार विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा छ सदस्यीय छानबिन समिति गठन गरिएको सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिए। 
 
उक्त समितिलाई छानबिन गरी पाँच दिनभित्र आवश्यक प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ । करिब एक सय केजी सुन भन्सार विभागको कार्यक्षेत्रबाट बाहिरिएपछि विभागका महानिर्देशक शोभाकान्त पौडेलले आज छानबिन समिति गठन गरेका हुन । 
 
“विभागका कर्मचारीले आवश्यक चेक जाँच गरे पनि कहिलेकाँही प्राविधिक त्रुटीका कारण यस्तो अवस्था देखिनसक्ने भएकाले छानबिन समिति गठन गरिएको हो”, सूचना अधिकारी खड्काले भने ।
 
राजस्व अनुसन्धान विभागले मङ्गलबार सिनामङ्गलबाट करिब एक सय किलो सुन बरामद गरेको थियो । सो प्रकरणमा हालसम्म छ जना पक्राउ परिसकेका छन् । बरामद गरिएको सुन परीक्षणका लागि आजै नेपाल राष्ट्र बैंक पठाइएको छ ।
 
?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।