विश्वव्यापी अर्थतन्त्र बलियो रहेपनि चुनौतीहरु थपिँदै : आईएमएफ

0
Shares

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले मुद्रास्फीति नियन्त्रणका लागि विश्वका अधिकांश केन्द्रीय बैंकहरुले आक्रामक शैलीमा बढाएको ब्याजदरका कारण विश्वव्यापी अर्थतन्त्रमा चुनौतीहरु थपिँदै गएको जनाएको छ ।

आइएमएफले प्रकाशन गर्ने वल्र्ड इकोनोमिक आउटलुकको जुलाई अंकमा सन् २०२३ मा विश्वव्यापी आर्थिक वृद्धिदर ३ प्रतिशत रहने उल्लेख छ । सन् २०२२ को तुलनामा सन् २०२३ मा उदीयमान राष्ट्रहरुको अर्थतन्त्रमा सुधार देखिएता पनि विकसित मुलुकका केन्द्रीय बैंकहरुले निरन्तर ब्याजदर बढाउँदा आर्थिक वृद्धि दर खुम्चिएको छ । सन् २०२२ मा ३.५ प्रतिशत रहेको आर्थिक वृद्धि दर सन् २०२३ र २०२४ मा ३ प्रतिशतमा खुम्चिने प्रक्षेपण आइएमएफले गरेको छ ।

चीनको औद्योगिक गतिविधिमा देखिएको सुधारका कारण विश्वव्यापी अर्थतन्त्र केही सुधारात्मक देखिएको हो । यस्तै रुस–युक्रेन युद्धका कारण सन् २०२२ मा पेट्रोलियम पदार्थ तथा खाद्यान्नको मूल्य आकाशिएको थियो । देशहरुले वैकल्पिक विधिहरु अपनाउँदै जाँदा सन् २०२२ को तुलनामा सन् २०२३ मा मुद्रास्फीति दरमा कमी आएको छ । ग्लोबल हेडलाइन मूल्यवृद्धि सन् २०२२ मा ८.७ प्रतिशत थियो भने सन् २०२२ मा ६.८ प्रतिशत रहेको छ । मुद्रास्फीति नियन्त्रणका लागि केन्द्रीय बैंकहरुले संकुचित मौद्रिक नीति अपनाउनुका साथै आक्रामक शैलीमा ब्याजदर बढाएका थिए । जसकारण मुद्रास्फीति नियन्त्रणमा आएको छ ।

सन् २०२३ मा विकसित अर्थतन्त्र भएका देशहरुको आर्थिक वृद्धि दर १.५ प्रतिशत, उदीयमान तथा विकासोन्मुख राष्ट्रहरुको आर्थिक वृद्धि दर ४ प्रतिशत रहने प्रतिवेदनमा उल्लेख छ । सन् २०२३ मा अमेरिकाको आर्थिक वृद्धि दर १.८ प्रतिशत रहने अनुमान गरिएको छ । जुन सन् २०२२ मा २.१ प्रतिशत थियो । हाल यूरोप क्षेत्रका अधिकांश देशहरु आर्थिक मन्दीबाट गुज्रिरहेका छन् । सन् २०२२ मा यूरो क्षेत्रको आर्थिक वृद्धि दर ३.५ प्रतिशत थियो जुन सन् २०२३ मा खुम्चिएर ०.९ प्रतिशत रहने अनुमान गरिएको छ ।

 

एशियाली क्षेत्रको आर्थिक वृद्धि दर बढ्यो

आइएमएफले प्रकाशन गरेको वल्र्ड इकोनोमिक आउटलुकका अनुसार अन्य क्षेत्रको आर्थिक वृद्धि दर खुम्चिँदा उदीयमान तथा विकासोन्मुख एशियाली क्षेत्रको आर्थिक वृद्धि दर बढेको छ ।

सन् २०२२ मा ४.५ प्रतिशत रहेको उक्त क्षेत्रको वृद्धि दर सन् २०२३ मा ५.३ प्रतिशत रहने अनुमान छ । चीनको आर्थिक वृद्धि दर सन् २०२३ मा ५.२ प्रतिशत रहने प्रतिवेदनमा उल्लेख छ । सन् २०२२ मा कोभिड–१९ को ओमिक्रोन भेरियन्टका कारण लकडाउन हुँदा चीनको आर्थिक वृद्धि ३ दशक यताकै न्यून ३ प्रतिशतमा झरेको थियो ।

यस्तै सन् २०२३ मा भारतको आर्थिक वृद्धि दर ६.१ प्रतिशत रहने अनुमान गरिएको छ । भारतीय रिजर्भ बैंकले आक्रामक शैलीमा बढाएको ब्याजदरका कारण सन् २०२२ मा ७.२ प्रतिशतको आर्थिक वृद्धि दर हासिल गरेको भारतको आर्थिक वृद्धि दर सन् २०२३ मा खुम्चिने प्रक्षेपण छ ।

ल्याटिन अमेरिका र क्यारिबियन क्षेत्रको आर्थिक वृद्धि दर सन् २०२२ मा ३.९ प्रतिशत थियो भने सन् २०२३ मा खुम्चिएर १.९ प्रतिशत रहने अनुमान छ । यस्तै सब–सहारन अफ्रिका क्षेत्रको वृद्धि दर सन् २०२३ मा ३.५ प्रतिशत रहने प्रतिवेदनमा उल्लेख छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।