सेवाग्राहीबाट ५ लाख घुस लिने मालपोतका हाकिम अख्तियारको फन्दामा

0
Shares

भूमिसुधार तथा मालपोत कार्यालय सिरहामा कार्यरत निमित्त कार्यालय प्रमुख मालपोत अधिकृत रामबाबु मण्डलले सेवाग्राहीबाट पाँच लाख घुस लिएको भन्दै अख्तियारले आरोपपत्र दायर गरेको छ ।

उच्च अदालत जनकपुर, राजविराज इजलासको पुनरावेदनमा विचाराधिन रहेको मुद्दाको सिलसिलामा सेवाग्राहीको नाममा कायम हुन आएको खुल्ने निर्णय सहितको माग भएको कागजातहरु उपलब्ध गराउन आनाकानी गर्दै सेवाग्राहीसँग घुस रकम माग गरेको भन्ने सूचनाको आधारमा आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले मण्डललाई नियन्त्रणमा लिएको हो ।

मण्डलले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएको स-प्रमाण पुष्टि भएको अख्तियारको भनाई छ ।

अख्तियारले मण्डललाई बिगो पाँच लाख कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम जरिवाना र कैद सजाय मागदाबी गरी आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।