भारत र रुसको संयुक्त लगानीमा भारतमा १२० वटा विद्युतीय रेल बनाइँदै

0
Shares

भारत र रुसबीच एक सय २० वटा विद्युतीय रेल उत्पादन गर्ने संयुक्त लगानीको कम्पनी भारतमा स्थापना गर्ने सम्झौता भएको छ । 
 
लामो दूरीमा सञ्चालन हुने एक सय २० वटा रेल बनाउन रुसको सबैभन्दा ठूलो रेल निर्माता कम्पनी ट्रान्सम्यासहोल्डिङ र भारतीय कम्पनी रेल विकास निगम लिमिटेड (आरभिएनएल) बीच सम्झौता भएको हो । 
 
यात्रीलाई सुत्ने सुविधाका साथ निर्माण गरिने एउटा रेलको मूल्य एक अर्ब ४० करोड पर्नेछ । ‘बन्दे भारत’ नामका ती रेलका अधिकांश डिब्बामा वातानुकूलन प्रणाली पनि जडान हुनेछ ।  दुवै समूहले लगानी गर्ने कम्पनीको नाम किनेट रेलवे सोलुसन्स लिमिटेड हुनेछ । कम्पनीमा आरभिएनएलको २५ प्रतिशत लगानी हुने रुसी समाचारपत्र कमर्सन्टले जनाएको छ ।
 
महाराष्ट्रको लातुरामा कम्पनी स्थापना गरेर निर्माण प्रारम्भ गरिनेछ । सम्झौताअनुसार अबकोे पाँच वर्षभित्रमा रेल बनाइसक्नुपर्नेछ । उक्त कम्पनीले नै ३५ वर्षसम्म कारखानाका उपकरण तथा रेलको मर्मत सम्भार गरिनेछ ।
 
उलान–उडे लोकोमोटिभ प्लान्टको भ्रमणका क्रममा ट्रान्समासहोल्डिङका महानिर्देशक किरिल लिपालाई रुसी प्रधानमन्त्री मिखाइल मिशुस्टिनले सम्झौताबारे जानकारी दिए। 
 
ट्रान्समासहोल्डिङका महानिर्देशकका भारतीय रेलवेका सहकर्मीसँग मिलेर परियोजनाको अर्को चरणको काम शीघ्र प्रारम्भ गरिनेछ । ट्रान्समासहोल्डिङ आधुनिक रेल  निर्माणमा ख्यातिप्राप्त कम्पनी हो जसले विश्वका ३० देशमा रेल डिजाइन, इन्जिन र अन्य उपकरण निर्माण तथा  आपूर्ति गर्दै आएको छ । 
 
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।