डिजल र मट्टितेलको मूल्य एक रुपैयाँले बढ्यो


नेपाल आयल निगमले डिजल र मट्टितेलको खुद्रा मूल्यमा प्रति लिटर एक रुपैयाँका दरले बढाएको छ। डिजेल र मट्टितेलको मूल्य पुस १ गते मंगलबार राति १२ बजे देखि डिजल र मट्टितेल एक रुपैयाँले बढ्ने निगमले जनाएको छ ।
ईण्डियन आयल कर्पोरेशनले १ डिसेम्बर २०१९ मा पठाएको मूल्य अनुरुप निगमले मिति २०७६ मंसिर १६ गते पेट्रोल, डिजेल र मट्टितेलको मूल्य समायोजन गरेपछि हाल १६ डिसेम्बर २०१९ मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ अन्तराष्ट्रिय बजार मूल्य बमोजिमको खरिद मूल्य केही बढेर आएको हुदाँ “पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१” अनुसार निगमले पुस १ गते राति १२:०० बजेदेखि लागू हुने गरी साविकको डिजल र मट्टितेलको खुद्रा बिक्री मूल्य बढेको जनाएको हो ।

पेट्रोल, हवाई ईन्धन र एल.पि.ग्यासको खुद्रा बिक्री मूल्य हाल यथावत नै राखिएको निगमले जनाएको छ ।

यो मूल्य समायोजन गरेपछि नेपाल तर्फको वीरगञ्ज नाकाको तुलनामा भारतको रक्सौलमा कायम भएको पेट्रोलको खुद्रा बिक्री मूल्य २०.४१ रुपैयाँ प्रति लिटरले सस्तो र डिजेलको खुद्रा बिक्री मूल्य १७.१६ रुपैयाँ प्रति लिटरले नेपालतर्फ सस्तो हुन गएको निगमले जनाएको छ ।

उपरोक्त समायोजन पछि निगमको डिपो बिक्री विन्दु देखि १५ कि.मि. क्षेत्रभित्र डिजेलर मट्टितेलको खुद्रा बिक्री मूल्य काठमाडौं (थानकोट), सुर्खेत र दिपायलमा प्रति लिटर ९८ रुपैयाँ, पोखरा, दाङ्गमा ९७.५० रुपैयाँ प्रति लिटर र अन्य तराई क्षेत्र (चारआली, विराटनगर, महेन्द्रनगर (धनुषा), विरगञ्ज, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी) मा रु. ९६.५० प्रति लिटर कायम गरिएको निगमले जनाएको छ ।