अडानी पोर्टसको लेखापरीक्षक डेलोइटले राजीनामा दिएपछि अडानी ग्रुप तानियो विवादमा


विश्वका शीर्ष चार अडिट फर्म मध्येको एक डेलोइट हस्कीन्स एन्ड सेल्सले अडानी ग्रुपद्धारा सञ्चालित अडानी पोर्टसको वैधानिक लेखापरीक्षकबाट राजीनामा दिएको छ । यससँगै गौमत अडानीको अडानी ग्रुप पुनः विवादमा परेको छ ।

सन् २०२३ को जनवरी महिनामा अमेरिकी सर्ट–सेलर हिडनबर्ग रिसर्चले अडानी ग्रुप विरुद्ध एक प्रतिवेदन सार्वजनिक गरेको थियो । प्रतिवेदनमा गौतम अडानीको साम्राज्यले कसरी कर छली गरी घोटाला गरिरहेको छ र ठगिरहेको छ भन्ने विषय उल्लेख गरिएको थियो । उक्त प्रतिवेदन सार्वजनिक भएसँगै अडानी ग्रुपले १५० अर्ब डलर बराबरको घाटा व्यहोरेको थियो ।

हिडनबर्ग रिसर्च संस्थानले लगाएको आरोप गलत र भ्रामक भएको उल्लेख गर्दै कम्पनीले आफ्नो तर्फबाट एक बचाउ पत्र जारी गरी उक्त प्रतिवेदन ग्रुपको राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा साख झार्नका लागि नियोजित रुपमा सार्वजनिक गरिएको आरोप लगाएको थियो । जनवरी महिनामा प्रतिवेदन सार्वजनिक भएपछि भारतका विभिन्न संस्थाहरुले अडानी ग्रुपमाथि अनुसन्धान गरिरहेका छन् ।

अडानी पोर्टसको लेखा परीक्षक कम्पनी–डेलोइटले पनि मे महिनामा अडानी ग्रुपका अन्य कम्पनीहरुले एक स्वायत्त कम्पनीलाई नियुक्त गरी हिडनबर्ग रिसर्चले लगाएका आरोपको खन्डन गर्न सुझाएको थियो । तथापि अडानी ग्रुपले डेलोइटको उक्त सुझावलाई अगाडि बढाएन । त्यसको २ महिनापछि डेलोइटले कम्पनीको वैधानिक अडिटरबाट राजीनामा दिएको हो ।

यसरी डेलोइट फर्मले आकस्मिक रुपमा राजीनामा दिनुले कम्पनीभित्र गडबडी भएको स्पष्ट हुने भारतीय काँग्रेस पार्टीका महासचिव जयराम रामेशले टिप्पणी गरेका छन् ।

सन् २०१७ देखि सन् २०२२ सम्म डेलोइट अडानी पोर्टसको वैधानिक लेखा परीक्षकको भूमिकामा थियो । डेलोइटको राजीनामा पछि अडानी ग्रुपले एमएसकेए एन्ड एशोसिएट्सलाई अडानी पोर्ट्सको वैधानिक लेखा परीक्षकमा नियुक्त गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।