एशियन लाइफको खुद बीमाशुल्क सामान्य बढ्यो, नाफा ५ करोडले घट्यो

0
Shares

एशियन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षमा कम्पनीले बीमाङ्कीय मूल्याङ्कनअघि २४ करोड ६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा २९ करोड १५ लाख ६४ हजार खुद नाफा कमाएको कम्पनीको नाफा ५ करोड १५ लाख ५८ हजार रुपैयाँ अर्थात १७.६८ प्रतिशतले घटेको हो ।

जीवन बीमा कम्पनीहरुको वास्तविक मुनाफा भने बीमाङ्कीय मूल्याङ्कनपछि मात्रै प्राप्त हुन्छ ।

कम्पनीले असार मसान्तसम्ममा ६ अर्ब ८४ करोड २ लाख ९५ हजार रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । गत आवको यसै अवधिमा कम्पनीले ६ अर्ब ८३ करोड ३५ लाख २८ हजार रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो । समीक्षा अवधिमा एशियनको खुद बीमाशुल्क ०.१० प्रतिशतले मात्र बढेको हो ।

समीक्षा अवधिमा कम्पनीको बीमा कोषको आकार १६.८० प्रतिशतले बढेर ३६ अर्ब ९० करोड ५५ लाख २८ हजार रुपैयाँको छ । यस्तै, महाविपत्ति कोषमा १५ करोड २४ लाख रुपैयाँबाट बढेर १७ करोड ६४ लाख ४ हजार रुपैयाँ पुगेको छ । कम्पनीको जगेडा कोषमा २९ करोड १३ लाख २७ हजार रुपैयाँ सञ्चित छ । जुन गत आवको तुलनामा ५७.८३ प्रतिशत कम हो । कम्पनीको चुक्त्ता पुँजी, जीवन बीमा कोष, जगेडा कोष सहित समग्र कोषमा  ४० अर्ब ५२ कराेड ५० लाख रूपैयाँ बढि सञ्चिति रहेको छ ।

गत आवमा एशियन लाइफले लगानी, कर्जा तथा अन्य आयबाट २ अर्ब ८२ करोड ५२ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन समीक्षा अवधिको तुलनामा ३०.७७ प्रतिशतले बढी हो । यस्तै, कम्पनीले बीमालेख धितोमा ४ अर्ब ७० करोड २३ लाख रुपैयाँ कर्जा प्रवाह गरी ४२ करोड ९३ लाख ८८ हजार रुपैयाँ आम्दानी गरेको छ । यस अवधिमा एशियन लाइफले अभिकर्ता कमिशन वापत ७१ करोड ५४ लाख ८० हजार रुपैयाँ खर्चेको छ । गत वर्षको यसै अवधिमा कम्पनीले अभिकर्ता कमिशन वापत ८२ करोड ६७ लाख ५० हजार रुपैयाँ खर्चेको थियो । बीमा अभिकर्ताले पाउने कमिशन घट्दै गएको देखिएको छ । कम्पनीको अघिल्लो आवको तुलनामा बीमा अभिकर्ता कमिशन १३.४६ प्रतिशतले घटेको हो । त्यस्तै, व्यवस्थापन खर्च ३० करोडबाट घटेर २७ करोड ७० लाख रुपैयाँमा झरेको छ ।

कम्पनीको अघिल्लो आवको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी ८० प्रतिशतले वृद्धि भएको हो । अघिल्लो आवमा १ अर्ब ५७ करोड ८७ लाख खुद दाबी भुक्तानी गरेकोमा २ अर्ब ८५ करोड ३७ लाख ९६ हजार भएको छ ।  चुक्ता पूँजी ३ अर्ब १५ करोड ५३ लाख ५२० रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रति सेयर आम्दानी ७ रुपैयाँ ६१ पैसा छ । अघिल्लो आवको सोही अवधिमा ११ रुपैयाँ ४८ पैसा थियो । कम्पनीको प्रति सेयर नेटवर्थ ११४८ रुपैयाँ ८२ पैसा छ ।

गत आवमा कम्पनीले कुल ७ अर्ब १ करोड ६५ लाख ८१ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । त्यस्तै, कम्पनीले हालसम्म ६ लाख ३० हजार ५३८ वटा बीमालेख जारी गरेको छ । अघिल्लो आवमा ४ लाख ३७ हजार ४२ वटा बीमा पोलिसी कम्पनीमा कायम रहेकोमा पोलिसी संख्या ४४.२७ प्रतिशतले वृद्धि भएको हो ।

कम्पनीले गत आवमा ९ हजार ७०५ वटा दाबी वापत ५ अर्ब १९ करोड ६६ लाख ७० हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीले १६१ वटा बीमा दाबी वापत ७ करोड ४७ लाख १९ हजार रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

अघिल्लो आवमा कम्पनीले ८ हजार ८१९ वटा दाबी वापत ४ अर्ब ४१ करोड ५९ लाख ५३ हजार रुपैयाँ दाबी भुक्तानी गरेको थियो भने १६९ वटा दाबी वापत ५ करोड ८६ लाख २५ हजार रुपैयाँ भुक्तानी गर्न बाँकी थियो । कम्पनीले बीमितलाई पोलेसीको प्रकार र अवधि हेरी प्रतिहजार न्यूनतम ४२ देखि ७५ रुपैयाँसम्मको बोनस दिँदै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।