मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागखोलामा आएको बाढीले पु¥याएको क्षतिको विवरण १० दिनपछि आज सार्वजनिक गरिएको छ ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको विपद् व्यवस्थापन समितिले सुरक्षा निकाय, प्रशासन र रेडक्रसको सहयोगमा सङ्कलन गरेको विवरणअनुसार बाढीले कागबेनीमा करिब एक अर्ब रुपैयाँको क्षत्ति पु¥याएकोे जनाएको छ ।
भौतिक संरचना, स्थानीयवासी, भाडामा व्यवसाय गरी बस्ने व्यक्ति, मजदुर, कार्यालय र सङ्घ\संस्थाको समूहमा क्षतिको विवरण तयार पारिएको गाउँपालिका अध्यक्ष रिनजिन गुरुङले जानकारी दिए ।
“नगद, सामान र संरचनामा मात्र ८१ करोड ८३ लाख २५ हजार रुपैयाँ बराबरको क्षति भएको छ”, उनले भने, “सडक, मोटरेबल पुल, झोलुङ्गे पुल, गुम्बा, मन्दिर, धर्मशाला, सामुदायिक, वडा, प्रहरी चौकीको भवन, तटबन्ध लगायत १४ वटा भौतिक पूर्वाधारतर्फ २१ करोड रुपैयाँ दुई लाख बराबरको क्षति भएको छ ।”
उक्त क्षतिमध्ये व्यक्तिका ५० घरमा ५२ करोड ८९ लाख ७५ हजार रुपैयाँ बराबरको क्षति भएको गाउँपालिकाले जनाएको छ । बाइस वटा घर पूर्ण र पाँच वटा घरमा आंशिक रुपमा क्षति भएको छ । नौ वटा गोठमा पूर्ण र १५ वटा गोठमा आंशिक क्षति हुँदा २४ वटा गाई र एक वटा घोडा मरेका छन् ।
उन्नाइस वटा दुई पाङ्ग्रे र तीन वटा चार पाङ्ग्रे सवारीसाधन क्षति भएको छ । उन्नाइस जना भाडामा बस्ने सर्वसाधारण तथा व्यवसायीको तीन करोड नौ लाख रुपैयाँ बराबरको सामग्री नष्ट भएको छ । बाह्र वटा सरकारी तथा सामुदायिक संरचनामा चार करोड ८० लाख ६० हजार रुपैयाँ क्षति भएको गाउँपालिकाले जनाएको छ ।
अठार जना कृषकको ४५ रोपनीभन्दा बढी जग्गा बाढीले पुरेको छ । दुई सय ७४ स्याउका बोट बाढीले नष्ट गरेको छ । साउन २८ गते साँझ ८ बजे कागखोलाको सहायक तिरिखोला थुनिएर आएको बाढी कागबेनीको बस्तीमा पसेको थियो । कागबेनीमा रहेका नेपाल इन्भेष्टमेन्ट मेगा र प्रभु बैंकको शाखा रहेको घरमा बाढी पन्छाउने क्रममा सुरक्षाकर्मीलाई आइतबार लकरमा राखेको एक करोड ६५ लाख रुपैयाँ सुरक्षित भेटाएर सम्बन्धित बैंकलाई बुझाएको प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिए ।
माथिल्लो क्षेत्रका बासिन्दाले सूचना दिएपछि भागेर ज्यान बचाएका कागबेनीका बासिन्दाले ठूलो भौतिक क्षति ब्यहोर्नुपरेको छ । कागबेनीको बस्तीभित्र पसेको बाढी पन्छाउने, उपल्लो मुस्ताङ जोड्ने सडक मर्मत, खानेपानी, विद्युत् आपूर्तिलगायत काममा जनप्रतिनिधि, स्थानीयवासी र सरकारी निकाय जुटेका छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया