क्यापिटल मार्केट ट्रेनिङ्ग ईन्स्टिच्युटद्धारा ब्रोकर कम्पनीका कर्मचारीहरुलाई तालिम


क्यापिटल मार्केट ट्रेनिङ्ग ईन्स्टिच्युट प्रा.लि. ले ब्रोकर नम्बर ३४, भिजन सेक्युरिटिजका कर्मचारीलाई तालिम प्रदान गरेको छ । भदौ ९ गते शनिबार उक्त कम्पनीका कर्मचारीलाई एक दिने तालिम प्रदान गरिएको हो । 
 
पुँजी बजारसँग आवद्ध रहेका नियामक निकायहरु, स्टक व्रोकरहरु, निक्षेप सदस्य, राफसाफ सदस्य, मर्चेन्ट वैंकरहरुका कर्मचारीहरुलाई आवश्यक तालिम प्रदान गरी वृती विकासमा योगदान गर्ने उद्देश्यका साथ स्थापित ईन्स्टिच्युटले पहिलो कार्यक्रमको रुपमा भिजन सेक्युरिटिजका कर्मचारीलाई तालिम दिएको जनाएको छ । 
 
 
तालिममा पहिलो सत्रमा सिडिएस एण्ड क्लियरिङ्ग लि.का डाटाबेस तथा आईटी शाखाका प्रमुख योगराज जोशीले ग्राहकको ब्रोकर खाता तथा डिम्याट खाता खोल्दा ध्यान दिनु पर्ने कुराहरु, कम्लाईन्स, आन्तरीक कार्यविधि, सम्पत्ती शुद्धिकरण निवारण सम्वन्धी ऐन तथा नियमावलीहरुको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । 
 
दोश्रो सत्रमा इन्टरनेशनल कर्पोरेट ट्रेनर मानुषी अग्रवालले ग्राहकहरुसँगको सम्वन्ध, प्रस्तुतीकरण, गुनासो सुनुवाई, समस्याको समाधान, गुणस्तरीय सेवा प्रवाह, ग्राहक सन्तुष्टी लगायतका सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् । 
 
भिजन सेक्युरिटिजका उपत्यका भित्र र वनेपा शाखाका कर्मचारी गरी जम्मा ३८ जना प्रत्यक्ष सहभागी भएका थिए भने विभिन्न शाखाहरुवाट भर्चुवल माध्याम वाट २२ जाना कर्मचारी गरी जम्मा ६० जाना कर्मचारीहरुको सहभागिता रहेको थियो ।
 
नेपालको पुँजी बजारमा आवद्ध संस्थाहरुका कर्मचारीहरुलाई समय–समयमा यस्तो प्रकारका तालिमहरु प्रदान गरी गुणस्तरीय सेवा प्रवाह गर्न कर्मचारीहरुको वृती विकास गर्नु पर्ने नियमकीय प्रावधान समेत रहेको छ । क्यापिटल मार्केट ट्रेनिङ्ग ईन्स्टीच्युटले भिजन सेक्युरिटिजसँग समन्वय गरी तालिम आयोजना गरेकोमा सिडिएससीका आइटी शाखा प्रमुख योगराज जोशीले सफलता तथा निरन्तरताको लागि शुभकामना व्यक्त गरेका थिए । 
 
राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा धेरै संघ संस्थाहरुमा संस्थागत तालिमकर्ताको रुपमा प्रशिक्षण दिएता पनि पहिलो पटक ब्रोकर कम्पनीका कर्मचारीहरुसँग आफ्ना अनुभव तथा विषयहरु साटासाट गर्न पाएकोमा मानुषी अग्रवालले खुसी व्यक्त गरेकी थिइन् । 
 
भिजन सेक्युरिटिजका कार्यकारी अध्यक्ष राज कुमार तिमिल्सिनाले दुवै जना प्रशिक्षकहरुलाई धन्यवाद दिदै यस्ता कार्यक्रमहरुले सम्वद्ध कम्पनीहरुले प्रदान गर्ने सेवाको गुणस्तर बढ्ने भन्दै यस्ता कार्यक्रमहरुको निरन्तरताको लागि जोड दिएका थिए ।
 
?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।