पचास रुपैयाँमा किन्न पाइने हाथवेको आईपीओमा भदौ २१ देखि सर्वसाधारणले आवेदन दिन पाउने


हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको आइपीओमा भदौ २१ गतेदेखि सर्वसाधारणले आवेदन दिन पाउने छन् । कम्पनीले पहिलो चरणमा  वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १ करोड ४६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ९२ हजार ५०० कित्ता सेयर निष्काशन गरी बाँडफाँड गरिसकेको छ ।

यस्तै कम्पनीले २९ लाख २५ हजार रुपैयाँ बराबरको ५८ हजार ५०० कित्ता सेयर आफ्ना कर्मचारीहरुका लागि र ७३ लाख १२ हजार ५०० रुपैयाँ बराबरको १ लाख ४६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि निष्काशन गरी बाँडफाँड गरिसकेको छ।

कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशतका दरले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता ५० रुपैयाँ अंकित मूल्यका २९ लाख २५ हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सो मध्ये अब बाँकी रहेको १२ करोड १३ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको २४ लाख २७ हजार ७५० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ मोबाइल एप तथा अनलाईन माध्यामको प्रयोग गरी मेरो सेयरको वेवसाइट मार्फत आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु पनि सि–आस्बा प्रणाली मार्फत सेयरमा आवेदन दिन सकिन्छ । सर्वसाधारण लगानीकर्ताले कम्पनीको आईपीओमा भदौ २५ गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिभित्र पूर्ण आवेदन नपरेमा निष्काशन अवधि असोज ४ गतेसम्म लम्बिनेछ।

आईपीओमा न्यूनतम २० देखि २० अंकको गुणाङ्कमा १ लाख कित्तासम्म आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । हाथवे इन्भेष्टमेन्टले नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा २०६५ चैत १४ गते दर्ता भई सोही मितिदेखि आफ्नो कारोबार सञ्चालन गर्दै आएको छ । हाथवेमा आईएमई ग्रुपको मुख्य लगानी रहेको छ । हेमराज ढकालसह संस्थापक तथा प्रबन्ध निर्देशक रहेको कम्पनीमा योगेश्वर शर्मा अध्यक्ष छन् । यस्तै सेयर लगानीकर्ता अम्बिका प्रसाद पौडेल, कुमार पौडेल (अलका इन्भेष्टमेन्टका सञ्चालक तथा अध्यक्ष), निमिष इन्भेष्टमेन्ट, सुमित प्रधान, सुशिल अर्याल (विद्युत प्राधिकरणमा सहायक प्रबन्धक) लगायतका १५ जनाको मुख्य लगानी छ ।

कम्पनीले पूँजीबजारका अतिरिक्त जलविद्युत, रियल इस्टेट, आर्थिक, पर्यटन र स्वः पूँजीको क्षेत्रमा आफ्ना लगानीलाई विस्तार र विविधिकरण गरी मुलुकको आर्थिक विकासमा योजना पुर्याउँदै आएको छ । हाल संस्थापक तर्फबाट चुक्ता भएको पू्ँजी १ अर्ब २ करोड ३७ लाख ५० हजार रुपैयाँ छ । सर्वसाधारणमा समेत आईपीओ बाँडफाँडपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब १७ करोड कायम हुनेछ । संस्थापकतर्फ हाल ८७ दशमलव ५० प्रतिशत सेयर स्वामित्व कायम छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।