.jpg)
नेपाल उद्योग परिसंघले विदेशस्थित नेपाली राजदूतावासहरु मार्फत आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्दै स्वदेशी वस्तुहरुको निर्यात एवं प्रवर्द्धनलाई उच्च प्राथमिकतामा दिन आग्रह गरेको छ ।
नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले आइतबार परराष्ट्र मन्त्री एन.पी. साउदसँग गरेको छलफलमा वैदेशिक लगानी भित्र्याउन, स्वदेशी वस्तुहरुको प्रवर्द्धन गर्न, पर्यटन प्रबद्र्धन गर्नका लागि आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्न आग्रह गरेको हो ।
अध्यक्ष अग्रवालले प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न नीतिगत स्थायित्व, सहज व्यवसायिक वातावरण र छिटो छरितो निर्णय गर्ने संयन्त्र आवश्यक रहेकोमा जोड दिए । उनले नेपालमा वैदेशिक लगानी आकर्षित गर्न सम्बन्धित देशका लगानीकर्तासँगको व्यवसायिक सम्बन्ध विस्तार गर्न आवश्यक रहेको बताए । यसका लागि नेपाली दूतावासहरुले व्यवसायिक प्रतिनिधिमण्डलको नियमित भ्रमण तथा अन्तरक्रिया गर्न सहजिकरण गर्नुपर्ने उनले बताए ।
परिसंघले भारतदेखि विराटनगरसम्म सुरु भएको कार्गो रेल्वे सेवा सञ्चालनका लागि निरन्तरता दिनुपर्ने, नेपाल भारतबीच मोटर भइकल एग्रिमेन्ट गरी नेपाली मालवाहक एवं अन्य सवारी साधनहरुको आवतजावतलाई सहज बनाइनुपर्नेमा जोड दिएको छ ।
मन्त्री साउदले परिसंघले उठाएका विषयहरुलाई उच्च प्राथमिकतामा राख्ने बताए । छलफलमा परिसंघका उपाध्यक्षहरु विरेन्द्रराज पाण्डे, रोहित गुप्ता, अमित मोर, भीम घिमिरे, परिसंघका महानिर्देशक दीपकराज जोशीलगायत सहभागी थिए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया