बाराही सेदी लिमिटेडले प्राथमिक सेयर निष्काशन गर्ने, एनएमबि क्यापिटल बिक्री प्रबन्धक


पोखराको लेकसाईडमा पाँच तारे होटल बनाईरहेको बाराही सेदी लिमिटेडले सर्वसाधारणमा ११ करोड ६० लाख रुपैयाँको प्राथमिक सेयर निष्काशन गर्ने भएको छ । जारी पूँजी १ अर्व १६ करोड रुपैयाँको १० प्रतिशत अर्थात ११ करोड ६० लाख रुपैयाँ बराबरको सेयर निष्काशन गर्न होटलले बिक्री प्रबँधक नियुक्त गरेको छ ।

होटलले सोमबार एनएमबि क्यापिटल लिमिटेडलाई धित्तोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गर्ने सम्बन्धी सम्झौता–पत्रमा बाराही सेदी होटल लिमिटेडका तर्फबाट कार्यकारी सञ्चालक बिप्लब पौडेल तथा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त हस्ताक्षर कार्यक्रममा बाराही ग्रुपका अध्यक्ष हरी प्रसाद पौडेल, बोर्ड सदस्य बसन्ती पौडेल, बैभव पौडेल सहितका सञ्चालक तथा कर्मचारीहरु तथा एनएमबि क्यापिटल लिमिटेडका कमल प्रसाद नेपाल तथा आशिष राज पाण्डेको उपस्थिति थियो ।

नियामक निकायबाट तोेकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकताहरु पुरा गरी यथासम्भव छिटो निष्काशनको प्रक्रिया अगाडी बढाईने होटलका कार्यकारी सञ्चालक विप्लव पौडेलले बताएका छन् । करिब ५१ प्रतिशत निर्माण कार्य सम्पन्न भै सकेको उक्त होटल सन् २०२५ देखि सञ्चालनमा ल्याउने योजनाका साथ तिव्र गतिमा निर्माण कार्य भैरहेको उनले बताए ।

होटलमा १० वटा प्रिसिडेन्सियल स्विट सहित १५० कोठा र ११ वटा सर्भिस हाउस रहनेछन् । पोखराको लेकसाइड मा पाँच तारे होटलको माग बढ्दै गएकाले क्यासिनोसहितको सुविधा सम्पन्न होटल बनाउन लागिएको छ । एक हजार २ सय क्षमताको हल समेत रहने यो होटलमा इन्फिनिटी स्विमिङ पुल, हेल्थ क्लब, टावर लिफ्ट लगायतका आकर्षण हुनेछन् ।

विगत ३० वर्षदेखि पर्यटन व्यवसायमा संलग्न बाराही गु्रपले बाराही सेदीको अलावा पोखराकै लेकसाईड होटल बाराही, काठमाण्डौंको ठमेलमा होटल बाराही काठमाण्डौ, चितवनको मेघौलीमा बाराही जंगल लज सञ्चालन गरिरहेको छ ।

बाराही ग्रुपले होटल आवास पोखरा, सराङकोट माउन्टेन लजका अलावा लेकसाईडमा द ब्यञ्जन रेष्टुरेन्ट र खपौदीमा द बीच रेष्टुरेन्ट पनि सञ्चालन गरिरहेकोछ । त्यस्तै पोखरामा आउने पर्यटकहरुलाई पोखरा भ्याली र हिमाली भेगमा हवाई टुर गराउन पोखरा अल्ट्रालाइट पनि बाराही ग्रुपकै नेतृत्वमा सञ्चालन भैरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।