अरुण काबेलीको हकप्रदमा आजसम्म मात्र आवेदन दिन पाइने


अरुण काबेली पावर कम्पनी लिमिटेडको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले भदौ १० गतेदेखि चुक्ता पूँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५ सय रुपैयाँको १०० प्रतिशत अर्थात् शत प्रतिशत सेयर निष्काशन गरेको हो ।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले असार २५ गते बुकक्लोज गरेको थियो। जस अनुसार असार २४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरु मात्र उक्त सेयरका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नबिल इन्भेष्टमेन्ट, अरुण काबेली पावर, हिमालयन बैंक र नबिल बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो सेयर अनलाइन प्रयोग गरी आवेदन दिन सकिनेछ ।

हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी त्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत सुरक्षित रहेको संकेत गर्दछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

अरुण काबेली पावर लिमिटेड वि।सं। २०६७ साल पौष २३ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भई कारोबार सञ्चालन गर्दै आएको कम्पनी हो । कम्पनीले मेची अञ्चलको पाँचथर र ताप्लेजुङ्ग जिल्ला बीच भई बहने काबेली नदीको पानी उपयोग गरी २५ मेगावाट क्षमताको कावेली बी–१ जलविद्युत परियोजनाको निर्माणका लागि मिति २०६९ आषाढ २९ गते नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता गरेको थियो ।

काबेली जलविद्युत परियोजनाको निर्माण कार्य सम्पन्न भई मिति २०७६ आश्विन १६ गते देखि राष्ट्रिय ग्रीडमा विद्युत आपूर्ति भइरहेको छ । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँडपश्चात कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७१ करोड ४ लाख २१ हजार रुपैयाँ पुग्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।