सुनको भाउ घट्ने क्रम जारी, बिहीबार प्रतितोला १४ सयले घट्यो


स्थानिय बजारमा सुनको भाउ घट्ने क्रम जारी छ । असोज ८ गतेबाट निरन्तर घट्न थालेको सुनको भाउ आज पनि प्रतितोला १४ सय रुपैयाँले घटेको हो । आज छापावाला सुनको भाउ प्रतितोला १ लाख ९ हजार ६०० रुपैयाँ कायम गरिएको छ ।

असोज ८ गते सोमबार प्रतितोला १ लाख १२ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार प्रतितोला ४ सय रुपैयाँले घटेर १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । हिजो बुधबार पुनः ८ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज १४ सय रुपैयाँले घटेको हो । सुनको भाउ ३ दिनको अवधिमा २६ सय रुपैयाँले घटेको छ ।

यस्तै आज तेजाबी सुनको भाउ प्रतितोला एक लाख ९ हजार ५० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तेजाबी सुन एक लाख १० हजार ४५० रुपैयाँ तोकिएको थियो ।

आज चाँदी प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ । हिजोको तुलनामा चाँदीको भाउ आज चाँदी १५ रुपैयाँ घटेको हो । हिजो चाँदी प्रतितोला १ हजार ३८५ रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ८७४ दशमलव २३ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस २२ दशमलव ४७ डलरमा कारोबार भइरहेको छ ।

यसैबिच राष्ट्र बैंकले सुन आयातको कोटा वृद्धि गरेको छ । सुन आयात सम्वन्धि एकीकृत परिपत्र संशोधन गर्दै दैनिक २० केजी सुन आयात गर्न मिल्ने व्यवस्था गरेको हो । यसअघि दैनिक रुपमा १० केजी मात्रै सुन आयात गर्न पाउने व्यवस्था थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।