काठमाण्डौं महानगरलाई अरनिको बसपार्क नभत्काउन उच्च अदालतकाे आदेश


उच्च अदालत पाटनले काठमाण्डौं महानगरपालिका–३२ स्थित जडीबुटीमा रहेको पूर्वअरनिको यातायात प्रालिले निर्माण गरेको बसपार्क नभत्काउन अल्पकालीन अन्तरिम आदेश गरेको छ ।

न्यायाधीश गोकर्ण डाँगीको इजलासले आज काठमाण्डौं महानगरपालिकाको नाममा उक्त बसपार्क नभत्काउन अल्पकालीन अन्तरिम आदेश गरेको हो । आदेशमा भनिएको छ, “सुविधा सन्तुलनको दृष्टिकोणले प्रस्तुत निवेदक कम्पनीले बसपार्क सञ्चालनका लागि व्यक्तिहरूको निजी जग्गा भाडामा लिई निर्माण गरेका संरचनालाई तोडफोड गर्ने तथा भत्काउने कार्य नगर्नु\नगराउनु ।”

आदेशमा बाटाको म्यादबाहेक १५ दिनभित्र आफैँ वा कानूनबमोजिमको वारेसमार्फत लिखित जवाफ पेश गर्नसमेत अदालतले महानगरपालिकालाई भनेको छ । अदालतले दुवै पक्षसँग छलफलका लागि यही १४ असोज गते बोलाएको छ । काठमाण्डौं महानगरपालिकाले पूर्वअरनिको यातायात प्रालिले निर्माण गरेको बसपार्क सञ्चालन गर्न नदिने उल्लेख गर्दै अटेर गरे भत्काउने सूचना गरेको थियो ।

उक्त यातायात प्रालिले १४ रोपनी जग्गामा १० करोड रुपैयाँ खर्च गरेर बसपार्क निर्माण गरे पनि महानगरपालिकाले ‘एक बसपार्क’ नीति लिएको उल्लेख गर्दै सञ्चालन अनुमति दिएको थिएन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १३ असाेज २०८०, शनिबार  ११ : १६ बजे