सोनापुर मिनरल्सको आइपीओमा आजदेखि सर्वसाधारणले आवेदन दिन पाउने


सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको थियो ।

उक्त आईपीओ बाँडफाँडपश्चात् अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले जारी पूँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशत अर्थात् १ अर्ब २३ करोड २० हजार रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका १ करोड २३ लाख २०० लाख कित्ता साधारण सेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।

सोमध्ये पहिलो चरणमा कम्पनीले उद्योग प्रभावित क्षेत्र दाङ्ग र रोल्पा जिल्लाका स्थानिय बासिन्दाहरुका लागि अंकित मूल्यमा १२५ रुपेयाँ प्रिमियम थप गरी प्रतिसेयर २२५ रुपैयाँमा १५ लाख ३७ हजार ५२५ कित्ता सेयर निष्काशन गरेको थियो । सो सेयरमा स्थानिय बासिन्दाहरुले १ लाख ३४ हजार ५२० कित्ताका लागि मात्र आवेदन दिएका थिए । रीतपूर्वक आवेदन दिएका आवेदकलाई माग गरे बमोजिम सेयर बाँडफाँड गरिसकेको छ ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १२ लाख १६ हजार ५६८ कित्ता, सामूहिक लगानी कोषका लागि ६ लाख ८ हजार २८४ कित्ता र कर्मचारीहरुका लागि ६ लाख ८ हजार २८४ कित्ता बाँडफाँड गरिसकेको छ । अब दोस्रो चरणमा कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी कुल २३७ रुपैयाँ ५८ पैसामा सर्वसाधारणका लागि ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर निष्काशन गरेको हो ।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १५ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । असोज १४ गतेदेखि निष्काशन खुला भएको कम्पनीको आइपीओमा असोज १७ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा आवेदन नपरेमा निष्काशन अवधि असोज २८ गतेसम्म लम्बिने छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि–आस्वा प्रणाली मार्फत र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो सेयरको मोबाइल एप तथा वेवसाइटबाट अनलाइन प्रयोग गरी आवेदन दिन सक्नेछन् । आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन ट्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ । कम्पनीको बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।

सोनापुर पश्चिम नेपालमा सबैभन्दा धेरै सिमेन्ट उत्पादन गर्ने कम्पनी

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड पश्चिम नेपालमा सबैभन्दा धेरै सिमेन्ट उत्पादन गर्ने कम्पनी हो । दाङमा उद्योग रहेको कम्पनीले आधा दर्जन ब्राण्डका सिमेन्ट उत्पादन गर्दै आएको छ । दाङ जिल्लामा अवस्थित यस कम्पनी पश्चिम नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उत्पादक कम्पनी हो । कम्पनीले सोना सिमेन्ट, सोना टेक सिमेन्ट, सोनाली सिमेन्ट, सोना चाँदी सिमेन्ट, सोनापुर सिमेन्ट र सोनाश्री सिमेन्ट लगायत ब्राण्डका सिमेन्ट उत्पादन गर्दै आएको छ ।
उद्योगको सिमेन्ट उत्पादन क्षमता दैनिक १२५० टन रहेको छ । क्लिंककर उत्पादन क्षमता २३०० टन रहेको छ । कम्पनीसँग हाल एउटै स्थानमा रहेका दुईवटा चुनढुङ्गा खानी उत्खनन अनुमतिपत्र छ । सोनापुर मिनरल्स सन् २००८ मा स्थापना भएको हो । उद्योग तयाल परिवारले स्थापना गरेको हो । उद्योगको अध्यक्षमा रतनलाल तयाल रहेका छन भने प्रबन्ध सञ्चालकमा निपेश तयाल रहेका छन् ।

सोनापुर मिनिरल्सले सन २०२२ मा २ अर्ब ३७ करोड ५० लाख बराबरको आम्दानी गरेको छ । सन् २०२१ मा कम्पनीले २ अर्ब ९२ करोड २० लाख आम्दानी गरेको थियो । हाल नेपालमा ६० वटा सिमेन्ट उद्योग र २० वटा क्लिंकर उद्योग रहेका छन् । सोनापुरले आईपीओ अनुमति पाएसँगै सेयर निष्कासन गर्ने सिमेन्ट कम्पनीको संख्या तीन पुग्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।