विद्युत् महसुल नबुझाउने १ हजार ८२३ ग्राहक कालोसूचीमा, सात करोड ६५ लाख उठाउन बाँकी


लामो समयदेखि विद्युत् महसुल नबुझाउने एक हजार आठ सय २३ ग्राहकलाई कालोसूचीमा राखी कारबाही प्रक्रिया अघि बढाइएको छ । विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगन्जले विद्युत् उपभोग गरे पनि लामो समयसम्म महसुल नबुझाउने ग्राहकलाई कालोसूचीमा राखेर बक्यौता असुल्न कारबाही अघि बढाइएकोे हो ।

कार्यालय प्रमुख अवधेश दुबेका अनुसार कालोसूचीमा रहेका ग्राहकको तीनपुस्ते विवरण यकिन गर्न कर्मचारीको टोली परिचालन गरिएको छ । टोलीले यकिन गरेपछि ग्राहकमाथि थप कारबाही अघि बढाइने प्रमुख दुबेले बताए । कालोसूचीमा रहेका ग्राहकबाट सात करोड ६५ लाख ५६ हजार सात सय ६३ रुपैयाँ बक्यौता रकम उठाउन बाँकी रहेको कार्यालय प्रमुख दुबेको भनाइ छ ।

लामो समयदेखि वर्षा नहुनु, बढ्दो गर्मी र पर्सा–बारा करिडोरका औद्योगिक क्षेत्रका उद्योगमा विगतको भन्दा कम विद्युत्को उपयोग हुनुजस्ता कारणले आर्थिक वर्ष २०७९\८० मा विद्युत् चुहावट शून्य दशमलव पाँच प्रतिशतले बढेको छ ।

गत आव २०७८\७९ मा विद्युत् चुहावट चार दशमलव ९८ प्रतिशत रहेकामा आव २०७९\८० मा पाँच दशमवल ०३ प्रतिशत विद्युत् चुहावट भएको प्रमुख दुबेले जानकारी दिए । उनका अनुसार आव २०७९\८० मा विद्युत् महसुल नबुझाउने दुई हजार चार सय ६८ ग्राहकको विद्युत् लाइन काट्दा एक हजार नौ सय छ ग्राहकबाट ११ करोड ४० लाख ७२ हजार छ सय १५ रुपैयाँ बाँकी बक्यौता रकम असुली भएको विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगन्जका इन्जिनीयर निर्मला फौजदारले बताए ।

त्यस्तै सो अवधिमा हुकिङ गरी विद्युत् चुहावट गर्ने ७१ जनालाई पक्राउ गरी जरिवानाबापत रु १२ लाख २४ हजार सात सय २४ राजस्व सङ्कलन भएको इन्जिनीयर फौजदारले जानकारी दिए । आव २०७९\८० मा दुई हजार चार सय ४२ नयाँ ग्राहक थपिएको छ । योसँगै वीरगन्ज क्षेत्रमा ग्राहकको सङ्ख्या ५४ हजार दुई सय तीन पुगेको विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगन्जले जनाएको छ । रासस

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १४ असाेज २०८०, आइतबार  ०९ : ३९ बजे