नेप्से ३३ अंकले घटेपछि सूचक १९७१ बिन्दुमा झर्यो, ६ कम्पनीमा नकारात्मक सर्किट

0
Shares

बजार प्रयाप्त तरलताबीच पनि यो वर्षको लाभांश सिजनमा नै सेयर बजारमा मन्दी कायम नै छ । नेपाल राष्ट्र बैंकले सेयर धितोकर्जामा लिएको १२ करोडको एक ग्राहक कर्जा सीमाको असरका कारण बजारमा शिथिलता उत्पन्न भएको हो ।

भएकै लगानीमा ठूला नोक्सानीमा रहेकाले र बजार बढ्नेमा विस्तश्त हुन नसक्दा ठूला लगानीकर्ता लगानी थप्न तयार छैनन् भने नयाँ लगानीकर्ता बजारको अवस्थाबाट नै लगानी गर्न चाहेका छैनन् । यसले लाभांश सिजनमा नै बजार शिथिल भएको छ । यसअघि सेयर बजारमा कारोबार खुल्दा निरन्तर एक दुई दिनसम्म सकारात्मक सर्किट लाग्ने गरेकोमा हाल कारोबार खुलेकै दिन प्रिमियम मूल्यमा आईपीओ बिक्री गरेकाे सिटिजन लाइफ इन्स्योरेन्सकाे सेयरमा पहिलो पटक सुरूवाती दिनमै नकारात्मक सर्किट लागेर कारोबार भएको छ ।

आइतबार नेप्से १.६५ प्रतिशत अर्थात ३३.२० अंकले घटेर १९७१ दशमलव १० बिन्दुमा झरेको छ । ठूला कम्पनीको सूचक मापक सेन्सेटिभ इन्डेक्स ५.५५ अंकले घटेर ३७७.३९ अंकमा झरेको छ । आज २८४ कम्पनीका ६७ लाख २३ हजार ४०० कित्ता सेयर खरिद बिक्री भएको छ । उल्लेखित संख्याको सेयर ८२ हजार ८०० वटा संख्यामा खरिद बिक्री हुँदा कारोबार रकम १ अर्ब ८३ करोड ४ लाख ८६ हजार ७४३ रुपैयाँमा समेटिएको छ । अघिल्लो कारोबार दिन  गत बुधबार पनि बजार १८.६० अंकले घटेर १ अर्ब ८१ करोड ४३ लाख रुपैयाँको सेयर खरिद बिक्री भएको थियो । बिहीबार भने इन्द्रजात्राको अवसरमा विदा रहेकाले सेयर कारोबार भएको थिएन ।

कारोबारमा आएका १३ वटै उपसमुहगत सूचक घटेका छन् । जलविद्युत सर्वाधिक ३.२१ र फाइनान्स २.१७ प्रतिशतले घटेको हो ।बाँकी ११ वटै सूचक १ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आजकार बजारमा ६ कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ। यसदिन सनराइज फस्ट म्युचुअल फन्ड अपर हेवाखोला हाइड्रोपावर, एशियन हाइड्रोपावर,मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर, सिटिजन लाइफ इन्स्योरेन्स र मेन्छियम हाइड्रोपावरको सेयरमूल्य नकारात्मक सर्किट लागेर घटेको हो । यस्तै स्वाभिमान लघुवित्त, अपर सोलु हाइड्रोपावर, अपर लोहोरे हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य पनि ९ प्रतिशतभन्दा बढीले घटेको छ ।

सयपत्री हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले बढेर ४२९ रुपैयाँ पुगेको छ । सेयर बजार दोहोरो अंकले घटेपनि सयपत्री हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेर ४२९ मा कारोबार भएको छ । कम्पनीको सेयरमूल्य आज ३९ रुपैयाँले वृद्धि भएको हो ।

यस्तै पिपुल्स हाइड्रोपावर, कुमारी धनवृद्धि योजना, बाराही हाइड्रोपावर र ग्लोबल आइएमई लघुवित्रको सेयरमूल्य बढेका छन् । पिपुल्स पावरको ६.७ प्रतिशत, कुमारी धनवृद्धि योजनाको ६.०५ प्रतिशत, बाराही हाइड्रोपावरको ५.९५ प्रतिशत, ग्लोबल आइएमई लघुवित्तको ५.९३ प्रतिशतले सेयरमूल्य बढेको छ । आज कारोबारमा आएका २८४ मध्ये २६ कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने २५० कम्पनीको सेयरमूल्य घटेको छ । ८ कम्पनीको सेयर मूल्य स्थीर रहेको छ ।

आइतबारदेखि कारोबार खुला भएको सिटिजन लाइफ इन्स्योरेन्स कारोबार रकम, कारोबार संख्या र कारोबार कित्ता सबैमा अगाडि रहेको छ । सिटिजन लाइफ इन्स्योरेन्सको १४ करोड ७३ लाख ६० हजार रुपैयाँको सेयर कारोबार भएको छ । कम्पनीको ३ लाख १८ हजार ७२४ कित्ता सेयर २४ हजार ५६७ वटा संख्यामा खरिद बिक्री भएको हो ।

यसैगरी एनआईसी एशिया बैंकको ९ करोड ३५ लाख ५३ हजार रुपैयाँ, सन नेपाल लाइफको ६ करोड ३ लाख ५४ हजार, रिलायबल नेपाल लाइफको ५ करोड ४० लाख ६२ हजार र शिवम् सिमेन्टको ४ करोड ५६ लाख ५३ हजारको सेयर कारोबार भएको छ ।

आइतबारको कारोबारसँगै समग्र बजार पुँजीकरण २९ खर्ब ८८ अर्ब ३५ करोड २४लाख ८५ हजार रुपैयाँमा समेटिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।