रोयल इन्फील्डको नेपालमै उत्पादन सुरु, वार्षिक २० हजार उत्पादन गर्ने लक्ष्य

0
Shares

व्यापारिक घराना त्रिवेणी ग्रुप मार्फत नेपालमै विश्व प्रसिद्ध रोयल इन्फील्ड बाइकको उत्पादन सुरु भएको छ । सन् २०२२ को मे महिनामा स्थापना भएको एसेम्बली प्लान्टले सन् २०२३ को मे महीनाबाट व्यापारिक उत्पादन सुरु गरेको हो ।

त्रिवेणी ग्रुप अन्तर्गतको टिजी अटो ग्रुप प्रालिले बारा जिल्लामा रोयल इन्फील्डको एसेम्बलिङ्ग प्लान्टको स्थापना गरी बाइकहरुको उत्पादन गरिरहेको छ । यससँगै विश्वव्यापी रुपमा रोयल इन्फील्डको पाँचौ एसेम्बलिङ्ग प्लानटको स्थापना नेपालमा भएको हो ।

कम्पनीले वार्षिक रुपमा २० हजार युनिट रोयल इन्फील्ड बाइकको उत्पादन गर्न लक्ष्य लिएको छ । कुल २७ करोड ५० लाख लगानीमा निर्माण भएको एसेम्बलिङ्ग प्लान्टले सञ्चालनमा आएको दुई महिनामै १८ करोड ९० लाख सञ्चालन आम्दानी गरेको छ ।

पछिल्लो समयमा नेपालमा रोयल इन्फील्ड तथा बुलेट बाइकको प्रयोग बढ्दै गएको छ । विशेषतः युवा पुस्ता माझ बुलेट बाइक लोकप्रिय बन्दै गएको छ। नेपालमै एसेम्बलिङ्ग प्लान्ट हुने हुँदा बुलेट बाइकको आपूर्ति सहज हुनेछ।

कम्पनीले ७० करोड बराबरको अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी केयर नेपालले २५ करोड बराबरको दीर्घकालीन कर्जाका लागि डबल बी र ४५ करोड बराबरको अल्पकालीन कर्जाका लागि ए४ रेटिङ गराएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।