कास्कीमा नयाँ उद्योग दर्ता घट्यो

0
Shares

कोरोना सङ्क्रमण र आर्थिक मन्दीका कारण यसवर्ष कास्कीमा नयाँ उद्योग दर्ताको सङ्ख्या घटेको छ।

कास्कीमा आर्थिक वर्ष २०७८/७९ मा दुई हजार तीन सय ६५ नयाँ उद्योग दर्ता भएकामा गत आव २०७९/८० मा नौ सय ९५ वटा मात्रै रहेको छ। घरेलु तथा साना उद्योग कार्यालय कास्कीका प्रमुख उद्योग अधिकृत शेषकान्त पैडेलले कोरोना र आर्थिक मन्दीकै कारण नयाँ उद्योग दर्ता सङ्ख्या घटेको हुनसक्ने बताए।

कार्यालयका उद्योग अधिकृत महराज ढकालका अनुसार गत आवमा नयाँ उद्योग दर्ता सङ्ख्या घटे पनि बक्यौता राजस्व बुझाउनेको सङ्ख्या बढ्दा राजस्व भने वृद्धि भएको छ। आर्थिक वर्ष २०७८/७९ मा दुई करोड १२ लाख ३० हजार ६ सय ३१ रूपैयाँ राजस्व संकलन हुँदा २०७९/८० मा दुई करोड ३९ लाख ९० हजार नौ सय ८९ रूपैयाँ राजस्व संकलन भएको छ।

विभिन्न उद्योगमध्ये पर्यटनमूलक, कृषि तथा वनपैदावार र सेवामूलक उद्योग दर्ता गराउनेको सङ्ख्या भने केही मात्रामा बढेको छ। आव २०७९/८० मा पर्यटनसम्बन्धी तीन सय ३८ वटा उद्योग दर्ता भएका थिए भने ऊर्जा र खनिजसम्बन्धी उद्योग भने एउटा पनि दर्ता भएनन्।

आव २०७९/८० कास्कीमा कृषि तथा वनपैदावार उद्योगतर्फ तीन सय १७, सेवामूलक उद्योगतर्फ एक सय ९८, उत्पादनमूलक उद्योगतर्फ एक सय ३५ र सूचना प्रविधिमा आधारित सातवटा उद्योग दर्ता भएको जानकारी उद्योग अधिकृत ढकालले दिए।

त्यस्तै आर्थिक वर्ष २०७८/७९ मा सबैभन्दा धेरै कृषि तथा वनपैदावारमा आधारित आठ सय ८८ वटा उद्योग दर्ता भएका थिए भने ऊर्जा र खनिजसम्बन्धी उद्योग भने एउटा पनि दर्ता भएका थिएनन्। पर्यटनमूलक उद्योगमा सात सय चार, सेवामूलक उद्योगमा पाँच सय ४७, उत्पादनमूलक उद्योगमा दुई सय १६ र सूचना प्रविधिमा आधारित १० वटा उद्योग दर्ता भएको जानकारी उद्योग अधिकृत ढकालले दिए।

कास्कीका उद्योगमा आव २०७८/७९ मा चार अर्ब ८९ करोड ५२ लाख रूपैयाँ पुँजी लगानी भएको थियो भने आव २०७९/८० मा तीन अर्ब २७ करोड १९ लाख रूपैयाँ पुँजी लगानी भएको प्रमुख उद्योग अधिकृत पौडेलले जानकारी दिए।

आव २०७८/७९ मा दुई हजार ६ सय ११ महिलासहित चार हजार आठ सय ३७ जनालाई विभिन्न उद्योगमा रोजगार सिर्जना हुँदा आव २०७९/८० मा एक हजार सात सय ५१ जना महिलासहित तीन हजार नौ सय ६७ जनाले रोजगार प्राप्त गरेका छन्। कास्की जिल्लामा विभिन्न प्रकृतिका २३ हजार ६ सय २९ उद्योग दर्ता भएका छन्। रासस

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।