मल्टीपर्पस फाइनान्सको साढे १ लाख कित्ता सेयर लिलामीमा


मल्टीपर्पस फाइनान्स लिमिटेडले १ लाख ४२ हजार ७७३ कित्ता हकप्रद सेयर लिलामी बढाबढ गरी बिक्री गर्ने भएको छ । कम्पनीले बिक्रीमा ल्याएको चुक्ता पुँजीको ३५ प्रतिशत हकप्रदमा वितरण हुन नसकेको हकप्रद लिलामी प्रक्रियाबाट बिक्री खुला गर्ने भएको हो ।

कम्पनीले गत भदौ १० गतेदेखि भदौ ३१ गतेसम्म चुक्ता पुँजी ४५ करोड २० लाख रुपैयाँको आधारमा ३५ प्रतिशत अर्थात १५ करोड ८२ लाख रुपैयाँ बराबरको १५ लाख ८२ हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । सो हकप्रद असोज १२ गते बाँडफाँड भएको थियो ।

तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका ४ हजार ३२८ जना सेयरधनीहरूमा १४ लाख ३९ हजार २२७ कित्ता हकप्रद सेयर बाँडफाँड गरिएको थियो । अवितरित १ लाख ४२ हजार ७७३ कित्ता हकप्रद सेयर मध्ये संस्थापक सेयरधनीहरुले ८२ हजार १२३ कित्ताको लागि आवेदन दिन पाउने छन् भने सर्वसाधारणले ६० हजार ६५० कित्ताका लागि आवेदन दिन पाउने छन् । संस्थापक समूहको सेयर खरिदका लागि विद्यमान संस्थापक शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रदमा असोज २९ गतेदेखि कात्तिक १३ गतेसम्म आवेदन दिन सकिने छ । 

बोलपत्र पेश गर्दा संस्थापकतर्फ न्यूनतम १ हजार कित्ता र सर्वसाधारणतर्फ न्यूनतम १०० कित्ता सेयरको लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण कित्ता खरिद गर्न सक्ने छन् ।
लगानीकर्ताले मुक्तिनाथ विकास बैंक लिमिटेड र शाखा कार्यालयहरुः ठिमी भक्तपुर, कुमारीपाटी – ललितपुर, बिर्तामोड, विराटनगर, विरगंज, जनकपुर, हेटौंडा, नारायणगढ, चिप्लेढुङ्गा – पोखरा, बाग्लुङ्ग, बुटवल, घोराही–दाङ, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगरबाट आवेदन दिन पाउने छन् ।

बढी मूल्य कबोल गर्ने लगानीकर्तालाई बोलकबोलको मान्यता अनुरुप प्राथमिकता दिई सेयर बिक्री गरिनेछ। संस्थापक सेयर खरिद गर्न चाहानेहरुले कालोसूचीमा नरहेको पत्र, कर चुक्ता प्रमाणपत्र, आयश्रोतको विवरण, स्वः घोषणा विवरण एवं कागजात पेश गर्नुपर्नेछ । सेयरको न्यूनतम मूल्य प्रति सेयर १०० रुपैयाँ तोकिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।