मध्यपुरथिमि नगरपालिकाको आन्तरिक आम्दानी २४ करोड


मध्यपुरथिमि नगरपालिकाले गत आर्थिक वर्ष २०७९\८० मा २४ करोड रुपैयाँ भन्दा बढी आन्तरिक आम्दानी गरेको छ । नगरपालिकाको १ देखि ९ वडा कार्यालय र नगर कार्यपालिकाको राजस्व शाखा गरी १० वटा सङ्कलन केन्द्रबाट गत आवमा २४ करोड १३ लाख ३८ हजार सात सय ४८ रुपैयाँ आन्तरिक आम्दानी गरेको हो ।

मध्यपुरथिमिले गत आवमा नगर कार्यपालिकाको राजस्व शाखाले सङ्कलन केन्द्रमध्ये सबैभन्दा धेरै आठ करोड पाँच लाख ३० हजार आठ सय ५८ रुपैयाँ आन्तरिक आम्दानी गरेको आर्थिक शाखाले जानकारी दिए ।

वडा कार्यालयमध्ये सबैभन्दा धेरै वडा नं ३ ले आम्दानी गरेको छ । वडा नं ३ ले तीन करोड ९८ लाख १७ हजार दुई सय २५ रुपैयाँ आम्दानी गरेको हो । वडाले चार करोड ५० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको थियो । वडा नं ३ का वडाध्यक्ष एवं नगर प्रवक्ता कृष्णहरि आचार्यले भने, “व्यवसाय दर्ता अभियानअन्तर्गत जनप्रतिनिधि र कर्मचारीको संयुक्त टोली घरघर र पसलपसलमा पुगेर व्यवसाय दर्ताका लागि अनुरोध गरिएको र सोअनुसार करिब चार सय व्यवसाय नयाँ दर्ता गर्न सफल भएकाले करिब चार करोड राजस्व सङ्कलन गर्न सफल भएको हो ।”

वडा कार्यालयमध्ये वडा नं २ ले रु दुई करोड २७ लाख ५५ हजार सात सय ७४, वडा नं १ ले दुई करोड २२ लाख ४२ हजार नौ सय ५६, वडा नं ४ ले एक करोड ९२ लाख ६४ हजार छ सय २०, वडा नं ९ ले एक करोड ६३ लाख ८२ हजार पाँच सय ८७ रुपैया सङ्कलन गरेको नगरपालिकाका सूचना अधिकारी एवं महाशाखा प्रमुख केशव सिलवालले जानकारी दिए ।

यसैगरी वडा नं ५ ले एक करोड ५० लाख ५५ हजार ९८ रुपैयाँ , वडा नं ६ ले ९७ लाख ५९ हजार दुई सय १७ रुपैयाँ, वडा नं ८ ले ८८ लाख ४६ हजार आठ सय रुपैयाँ र सबैभन्दा कम वडा नं ७ ले ६६ हजार ८३ हजार सात सय २४ रुपैयाँ आम्दानी गरेको सिलवालको भनाइ छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १८ आश्विन २०८०, बिहिबार  ०६ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।