प्राधिकरणले खुलायो विद्युत खरिद बिक्री सम्झौता, प्रवद्धकलाई आह्वान

0
Shares

नेपाल विद्युत प्राधिकरणले विद्युत खरिद बिक्री सम्झौता (पीपीए) खुला गरेको छ । प्राधिकरणले ३५ वटा जलविद्युत आयोजनाका प्रवद्धकलाई पीपीए लागि आह्वान गरेको छ ।

प्राधिकरणको सञ्चालक समितिको निर्णय अनुसार नदी प्रवाहमा आधारित र अर्ध जलाशय प्रकृतिका जलविद्युत आयोजनाको पीपीए खोलिएको हो।

नदी प्रवाही (आरओआर) र अर्घजलाशययुक्त (पीआरओआर) जलविद्युत् आयोजनाको पीपीएका लागि तोकिएको माथिल्लो सीमा क्रमशः ६ हजार ७५० मेगावाट र ४ हजार ५ सय मेगावाट नपुगेसम्म पीपीए गर्ने निर्णय गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणसँग ग्रिड कनेक्सन एग्रिमेन्ट सम्पन्न भएको मितिलाई आधार मानी रोल क्रम अनुसार पीपीएको कारबाही प्रक्रिया बढाउने जनाएको छ ।प्राधिकरणले पीपीए प्रक्रियामा रहेका प्रवर्द्धक कम्पनी र विद्युत् नियमन आयोगबाट पीपीएको मस्यौदामा सहमति प्राप्त भई पीपीएमा हस्ताक्षर गर्ने प्रयोजनार्थ अख्तियारी, परफरमेन्स बैंक जमानत र पीपीए शुल्क बुझाउन पत्राचार गरिएको प्रवर्द्धक कम्पनीलाई प्राधिकरणले पीपीएका लागि आह्वान गरेको छ ।

आयोजनाहरुलाई यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ३५ दिनभित्र रीतपूर्वक आवश्यक कागजातहरू दस्तावेज सहित निवेदन साथ विद्युत व्यापार विभागमा सम्पर्क राख्न सूचनामा आह्वान गरिएको छ । रीतपूर्वक पेस हुन आएका निवेदनहरूको आधारमा पीपीएको कारवाही प्रक्रिया अगाडि बढाइने प्राधिकरणको भनाई छ ।

तर, तोकिएको अवधिभित्र निवेदन प्राप्त नभएमा वा प्राप्त निवेदनहरूमा आवश्यक कागजातहरू (दस्तावेज संलग्न नभएमा त्यस्ता आयोजनाहरूलाई यस सूचनालाई आधार मानी पीपीएको रोल क्रमबाट हटाई रोल कमका आधारमा ग्रिड कनेक्सन एग्रिमेन्ट सम्पन्न भएका तत् पश्चातका आयोजनाहरूको पीपीए प्रक्रियालाई अगाडि बढाइने जनाएको छ । पीपीएको प्रक्रियाबाट हटाइएका आयोजनाहरूलाई तत् पश्चातको क्रममा समावेश गरिने सूचनामा उल्लेख छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।