बेरोजगारी कम गर्न निजी क्षेत्र र सरकारबीच साझेदारी आवश्यक : अर्थमन्त्री


अर्थमन्त्री डा प्रकाशशरण महतले देशमा व्याप्त बेरोजगारी कम गर्नका लागि निजी क्षेत्र र सरकारबीच साझेदारी एवं सहकार्य अपरिहार्य रहेको बताएका छन् । नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घले आयोजना गरेको सीपमूलक तालिमका सम्भावना र योजना विषयक अन्तरक्रियामा उनले लहडको भरमा भन्दा पनि बजारको माग बमोजिम व्यावसायिक र सीपमूलक तालिम प्रदान गर्न आवश्यक रहेको बताए ।

उनले भने, “लहडको भरमा भन्दा पनि बजारको माग बमोजिम व्यावसायिक र सीपमूलक तालिम प्रदान गरे सोचे अनुरुपको आर्थिक लाभ लिन सकिन्छ ।” यसैगरी उनले नेपालबाट दैनिक रोजगारीका लागि विदेश पलायन भइरहेको अवस्थामा महासङ्घले दक्ष कामदार उत्पादनमा जोड दिनुपर्ने बताए । देशमै दक्ष मानव संशाधनको अभाव हुनु र अर्कोतिर बेरोजगारी दर बढ्दै जानु चिन्ताको विषय भएको उनको भनाइ थियो । देशमा विभिन्न किसिमका व्यावसायिक तालिम निजी क्षेत्र, वैदेशिक रोजगार विभाग, श्रम विभागलगायतले सञ्चालन गरे पनि परिणाममुखी बन्न नसकेको भन्दै अर्थमन्त्री डा महतले चिन्ता समेत व्यक्त गरे ।

सो अवसरमा महासङ्घका अध्यक्ष अच्युत नेपालले बजारमा सीपमूलक तालिम र दक्ष जनशक्तिको माग एवं आपूर्तिकाबीच देखिएको दूरी अन्त्यका लागि सरकारसँगको साझेदारी र सहकार्यमा महासङ्घले छोटो अवधिका सीपमूलक तालिम सञ्चालन गर्दै आएको जानकारी दिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १९ आश्विन २०८०, शुक्रबार  ०६ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।