कर्णाली मासुमा आत्मनिर्भर, वार्षिक एक करोड ४० लाख बढीको खसीबोका निर्यात


कर्णाली प्रदेशबाट वार्षिक एक करोड ४० लाख रुपैयाँ बराबरको खसीबोका र च्याग्रा निर्यात हुँदै आएको प्रदेश सरकारले जनाएको छ । प्रदेश सरकारअन्तर्गत पशुपन्क्षी निर्देशनालयको तथ्याङ्कअनुसार वार्षिक एक करोड ४० लाख रुपैयाँ बढीको खसीबोका निर्यात हुने गरेको हो । सरकारको तथ्याङ्कअनुसार कर्णालीबाट दैनिक ११ लाख ७० हजारको खसी बोका निर्यात भइरहेको छ ।

कर्णाली प्रदेश सरकारको तथ्याङ्कअनुसार दैनिक ११ लाख ७० हजारको खसीबोका प्रदेशबाट बाहिर निर्यात हुने गरेको कर्णाली प्रदेश पशुपन्क्षी निर्देशनालयका प्रमुख कृष्णप्रसाद पङ्गेनीले जानकारी दिए । “कर्णाली मासुमा आत्मनिर्भर छ, पछिल्लो समय उत्पादन पनि बढेको छ,” उनले भने, “यहाँबाट दैनिक ११ लाख ७० हजार रुपैयाँको खसी बोका निर्यात भइरहेको छ, चाडपर्वमा अझै धेरैको खसीबोका र च्याग्रा निर्यात हुन्छ । यो हिसाबले वार्षिक एक करोड ४० लाख ४० हजार रुपैयाँ बराबारको निर्यात भइरहेको छ ।”

प्रदेशका १० जिल्लामध्ये सुर्खेत, सल्यान, दैलेख, रुकुम पश्चिममा खसी बोका र माथिल्लो कर्णालीका पाँच जिल्लामा भेडा च्याग्राको उत्पादन धेरै हुने गरेको प्रमुख पङ्गेनीले जानकारी दिए । उनका अनुसार कर्णाली प्रदेशका पाँच जिल्ला दूधमा आत्मनिर्भर रहेको छ । तर अण्डा भने बाहिरबाट आयात गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

“अहिले कर्णाली प्रदेश सरकारले दूधमा अनुदान दिइरहेको छ, यसले गर्दा दूध उत्पादन पनि बढेको छ,” उनले भने, “अहिले पाँच जिल्ला सुर्खेत, दैलेख, सल्यान, जाजरकोट र रुकुम पश्चिम दूधमा आत्मनिर्भर छन्, यी जिल्लाबाट दैनिक तीन ट्याङ्कर दूध बाँके, बुटवलसम्म पुग्ने गरेको छ ।”

माथिल्लो कर्णालीका जिल्लामा भने दूध उत्पादन कम हुने गरेको भन्दै त्यस क्षेत्रमा उन्नत जातका पशुपालन गर्न प्रेरित प्रदेश सरकारले गरिरहेको उनको भनाइ छ । केही वर्षभित्र कर्णालीका सबै जिल्ला दूधमा पनि आत्मनिर्भर हुने प्रमुख पङ्गेनीले बताए । प्रदेश सरकारले पशुपालन व्यवसायतर्फ आकर्षित गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उनको भनाइ छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १९ आश्विन २०८०, शुक्रबार  ०६ : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।