नेपालमा यसवर्ष मनसुन अवधिमा ८८.५ प्रतिशत वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको अवधि जुनदेखि सेप्टेम्बर महिना अर्थात् चार महिनाको अवधिमा सरदरभन्दा कम वर्षा भएको छ ।
नेपालमा मनसुन अवधिमा सरदर १ हजार ४७२ मिलिमिटर वर्षा हुने गरेकामा यसवर्ष मनसुन अवधिमा १ हजार ३०३ मिलिमिटर वर्षा भएको छ । विभागका मौसमविद् सुदर्शन हुमागाईंले आंकलन गरेअनुसार यस वर्षको मनसुन सरदरभन्दा कम वर्षा भएको बताए । उनले सरदरभन्दा कम वर्षा हुने आँकलन गरिए पनि जोमसोममा २०० दस दशमलव सात मिलिमिटर वर्षा भएको छ, जुन सरदरको १३३ दशमलव पाँच प्रतिशत हो ।

त्यस्तै काठमाडौँमा एक हजार २८३ मिलिमिटर वर्षा भएको छ । जुन सरदरको एक सय नौ प्रतिशत हो । काठमाडौँमा मनसुन अवधिमा सरदर एक हजार १७६ दशमलव चार मिलिमिटर वर्षा हुन्छ । त्यसैगरी ओखलढुङ्गामा एक हजार ४९२ दशमलव एक मिलिमिटर वर्ष भएको छ, जुन सरदरको १०७ प्रतिशत हो । यसपाली जनकपुरमा सरदरको आधा हाराहारी वर्षा भएको छ । यस वर्ष ६३७ दशमलब एक लिलिमिटर वर्षा मापन गरिएको छ । जनकपुरको सरदर वर्षा एक हजार १९५ दशमलब आठ मिलिमिटर हो ।
मनसुन पूर्णरुपमा बाहिरिन अझै केही दिन लाग्ने
नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिमी भू–भाग भएर यही असोज १९ गते यस वर्षको मनसुन बाहिरिए पनि देशका अन्य भू–भागमा मौसम कायमै रहेको छ । बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपालको पूर्वी तथा मध्य भू–भागमा मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक असर रहेकाले अझै एक/दुई दिन देशका कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।महाशाखाका मौसमविद् गङ्गा नगरकोटीका अनुसार नेपालबाट मनसुन पूर्णरूपमा बाहिरिन अझै केही दिन लाग्नेछ । “देशको पूर्वी र मध्य भागमा मनसुन कायमै रहेकाले बदली र हल्का वर्षाको सम्भावना छ”, उनले भने ।
नेपालमा मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ तारिख भए पनि यस वर्षको मनसुन औसत मितिभन्दा केही दिन ढिलो बाहिरिएको हो । बङ्गालको खाडीको उत्तर–पश्चिम भागमा विकास भएको न्यूनचापीय क्षेत्रको असरले मनसुन बहिर्गमनमा ढिलाइ भएको थियो । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । यस वर्ष सरदर मितिभन्दा एक दिन ढिलो अर्थात् जुन १४ तारिख (जेठ ३१ गते) मनसुन भित्रिएको थियो । -रासस
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया