दुई जलविद्युत कम्पनीको सेयर नेप्सेमा सूचीकृत, बिहीबारदेखि कारोबार


नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा बुधबार दुई जलविद्युत कम्पनीको सेयर सूचीकृत भएको छ । नेप्सेको असोज २३ गतेको निर्णय तथा धितोपत्र सूचीकरण नियमावली २०७४ बमोजिम बुधबार दुबै कम्पनीको सेयर सूचीकृत भएको हो ।

मिड सोलुले वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानिय बासिन्दा, कर्मचारीहरु सहित सर्वसाधारणका लागि निष्काशन गरेको १४ लाख ९६ हजार ८०० कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको ५९ लाख ८७ हजार २०० कित्ता सेयर गरी कुल ७४ लाख ८४ हजार कित्ता सेयर यस दिन सूचीकृत भएको हो ।

यस्तै भगवती हाइड्रोपावरले वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानिय बासिन्दा, कर्मचारीहरु सहित सर्वसाधारणका लागि निष्काशन गरेको १४ लाख ३० हजार १६२ कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको ४२ लाख ९० हजार ४८५ कित्ता सेयर गरी कुल ५७ लाख २० हजार ६४७ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेले मिड सोलु हाइड्रोपावरलाई पहिलो कारोबारको लागि कम्पनीलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ भने भगवती हाइड्रोपावरलाई पहिलो कारोबारको लागि १२० रुपैयाँ ४१ पैसादेखि ३६१ रुपैयाँ २३ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ ।

नेप्सेले मिड सोलुलाई दोस्रो बजारमा कारोबारका लागि एमएसएचएल (MSHL) र भगवती हाइड्रोपावरलाई बीजीडब्लुटी (BGWT) स्टक सिम्बोल प्रदान गरेको छ । बुधबार सूचीकृत भएका दुबै कम्पनीको धितोपत्र बिहीबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।

काठमाडौं सुविधानगरमा प्रधान कार्यालय रहेको भगवती हाइड्रोपावरको सेयर सूचीकरण पश्चात् दिनुपर्ने आरटिएस सेवा सिद्धार्थ क्यापिटल लिमिटेड, नक्साल, काठमाडौंबाट हुने छ ।

यस्तै काठमाडौं १०, नयाँ बानेश्वरमा प्रधान कार्यालय रहेको मिड सोलु हाइड्रोपावरको सेयर सूचीकरण पश्चात् दिनुपर्ने आरटिएस सेवा एनआईसी एशिया क्यापिटल लिमिटेड, थापाथली काठमाडौंबाट हुने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।