माछा मारेर जीविकोपार्जन गर्दै आएका मुसहर समुदाय वैकल्पिक पेसा रोज्दै


नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–७ मुसहर बस्तीका १८ घर मुसहर परिवार वैकल्पिक पेसातर्फ लागेका छन् ।

नदीमा माछा मारेर जीविकोपार्जन गर्दै आएका मुसहर समुदाय माछा मार्न छाडेर आर्थिक उपार्जनका लागि अन्य वैकल्पिक पेसातर्फ लागेका हुन् । केही वर्षअघिसम्म काँधमा जाल बोकेर नदीमा माछा मार्न जाने बमबहादुर मुसहर हिजोआज साइकलमा तरकारी बोकेर हाटबजार जाने गरेको छ । “वैकल्पिक पेसा नखोजे त भोकै मरिन्छ, तरकारी बेचेर राम्रै कमाइ भएको छ”, उनले भने ।

चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती छेउको सानो घर र घरनजिकको सामूहिक प्लटमा आफैँले फलाएका स्थानीय जातका तरकारी बेच्ने बमबहादुर कहाँ ग्राहक झुम्मिने गरेका छन् । उनले लुँडे, खोले साग, फर्सीको मुन्टा, स्थानीय जातको खुर्सानी, केरुङ साग, मकै, बोडी र ताजा निगुरो बेच्छन् । कावासोती हाटबजारमा प्रत्येक हप्ताको सोमबार, बुधबार र शनिबार तीन दिन बमबहादुर साइकलमा तरकारी बोकेर हाट लाउन जाने गरेको छ ।

“नदीमा माछा मारेर जीविकोपार्जन गर्दै आएको हाम्रो परिवार अहिले तरकारी बेच्न हाटबजार आउने गरेका छौँ”, उनले भने, “पुगेसम्म त आफैँले उत्पादन गरेका तरकारी बेच्छु, व्यापार त गर्नैपर्छ कहिलेकाहीँ स्थानीय उत्पादन पनि खरिद गरेर बेच्ने गरेको छु ।”

पुख्र्यौली पेसामा सङ्कट आउन थालेपछि आफूहरू वैकल्पिक आयआर्जनको बाटोतर्फ लागेको स्थानीय रमिया मुसहरले बताए । “हुन त हाम्रो परम्परागत पेसा माछा मार्ने नै हो तर यो पेसामा समस्या आउन थाल्यो, नदीमा माछा पाइन छाड्यो”, उनले भने, “निकुञ्जको निगरानी पनि बढ्दै गयो, गैँडा, बाघजस्ता जङ्गली जनावरको जोखिमसँगै मुसहर समुदाय पेसा परिवर्तनतर्फ लागेका हौँ ।”

पछिल्लो समय कृषि पेसाबाटै जीविकोपार्जन गर्दै आएका स्थानीय धर्मबहादुर मुसहर मछुवारी पेसाभन्दा खेती किसानीले नै परिवारमा केही खुसीयाली थपिएको बताए । केही मुसहर परिवारले बस्ती छेउको खाली जग्गामा खनिएको माछापोखरीमा रहु, नैनी, कमनलगायतका उन्नत जातका माछा पालेर थप आयआर्जन पनि गर्ने गरेका छन् । माझी, मुसहर र बोटे समुदायका मानिसमा चेतनाको विकास भएसँगै माछा मारेरमात्र जीवन नचल्ने देखेर अन्य पेसा अँगाल्ने क्रम बढेको स्थानीय सन्तबहादुर माझीले बताए ।

“माझी, मुसहर र बोटे समुदायका मानिस अहिले खेतीपाती, ज्याला मजदुरी, वैदेशिक रोजगारीमा र कतिपय सिकर्मी, डकर्मी पेसातर्फ उन्मुख भएका छन्”, उनले भने, “पहिले–पहिले तराई क्षेत्रमा आवादी खुले पनि राज्यसँगको पहुँच नहुँदा जग्गा, जमिन जोड्ने कुराबाट बञ्चित मुसहर समुदाय कतिपय स्थानीय बस्तीका किनारमा झन्डै दुई पुस्तादेखि भूमिहीन अवस्थामै छन् ।”

नदी, खोलाको माछा र निकुञ्जको निगुरो, तामामा आश्रित यो विपन्न समुदाय पेसा परिवर्तन गरेर निकुञ्जबाट बाहिर निस्कने प्रयासमा रहे पनि आर्थिक उत्थानमा राज्यको नजरबाट भने ओझेलमै रहेको गुनासो छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।