बागलुङमा भित्रिए मुस्ताङी च्याङ्ग्रा


भाउ आकासिए पनि यहाँ मुस्ताङी च्याङ्ग्राको माग घटेको छैन । कोसेलीका लागि र दसैमा च्याङ्ग्राको मासु खाने चलनले भाउ आकासिए पनि व्यापार राम्रो छ ।

बागलुङका च्याङ्ग्रा व्यापारी बलबहादुर थापाले दसैँ लक्षित १५१ च्याङ्ग्रा जिल्लामा भित्र्याएको छ । मुस्ताङबाट हिँडेको पाँच दिनमा थापाले आफूसहित अन्य दुई जनाको सहयोगमा ती च्याङ्ग्रा यहाँ ल्याएको हो ।

लामो समयदेखि दसैँ र तिहारको अवसरमा मुस्ताङ पुगेर च्याङ्गा ल्याउने गरेको बताउँदै थापाले यस पटक ७० लाख रुपैयाँको लगानीमा च्याङ्ग्रा भित्र्याएको जानकारी दिए । उनका अनुसार एउटाको मूल्य ५० हजार रुपैयाँसम्म पर्दछ । सानो च्याङ्ग्राको मूल्य ४० देखि ४५ हजार पर्ने भए पनि रोज्जा च्याङ्ग्रालाई ५० हजार रुपैयाँ भन्दा तल बिक्री गर्न नसकिने थापाको भनाइ थियो ।

“अहिले रोज्जा च्याङ्ग्रा ५० हजार रुपैयाँमा बिक्री गर्ने हो । थोरै नाफा त राख्नु पर्यो । मुस्ताङबाट ल्याउदा दुःख धेरै छ”, उनले भने “महँगो भए पनि माग बढेको छ । अहिले चीनबाट नआउदा मुस्ताङ्का च्याङ्ग्रा थोरै मात्र निर्यात भएको पाइयो ।” थापाका अनुसार मुस्ताङको छोसेरबाट च्याङ्ग्रा बागलुङ ल्याएको हो ।

छोसेरबाट मुस्ताङको सदरमुकाम जोमसोमसम्म च्याङ्ग्रा व्यापारीले ल्याएका च्याङ्ग्रा आफूहरुले खरिद गरेर ल्याएको थापाको भनाइ थियो । थापासहित महेन्द्र केसी, यामबहादुर केसीले पनि यहाँका बजारमा मुस्ताङी च्याङ्ग्रा भित्र्याउँदै आएको छ ।

च्याङ्ग्राको माग उच्च भएको र आयात थोरै हुँदा महँगो भए पनि बिक्री हुने गरेको व्यापारीले बताउँछन् । हिमाली क्षेत्रको जडीबुटी खाएकाले स्वादिलोसँगै स्वास्थ्यका लागि फाइदा हुने भन्दै प्रायः उपभोक्ताले दसैँमा भेडाच्याङ्ग्रा खोज्ने थापाले बताए ।

मुस्ताङका भेडाच्याङ्ग्रा अत्यन्त महँगो भएकाले यस वर्ष स्थानीयस्तरमा पालिएका खसी तथा जिल्लाको उच्च हिमाली क्षेत्रमा पालिएका भेडाको माग अत्यधिक रहेको व्यापारीले बताएका छन् । यस वर्ष मुस्ताङबाट आठ हजार भेडाच्याङ्ग्रा निकासी हुने अनुमान गरिएको छ । -रासस

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।