काठमाण्डौंदेखि धनगढीसम्मको हवाई भाडा प्रतियात्रु १७ हजार रुपैयाँ पुर्याइएपछि चाडपर्वका समयमा काठमाण्डौंबाट घर फर्किन चाहने यात्रु मर्कामा परेका छन् ।
देशको आन्तरिक हवाईसेवामा सम्भवतः यो भाडादर सबैभन्दा बढी हो । काठमाण्डौं–नयाँ दिल्लीको हवाई भाडादर योभन्दा कम रहेको यात्रुले बताएका छन् । निजी विमान कम्पनीले काठमाण्डौं–धनगढीको हवाई भाडा ७ हजार ९०० रुपैयाँबाट वृद्धि गरी १७ हजारभन्दा बढी पुर्याएको गुनासो यात्रुको छ ।
चाडपर्वको मौका छोपेर आफूखुसी भाडा लिने गरे पनि सरकारको कुनै निकायले चासो नदिएको यात्रु सन्तोष जोशीले गुनासो गरे । उनले भने, “काठमाण्डौंदेखि नयाँ दिल्लीको हवाई भाडा १७ हजार रुपैयाँ भन्दा कम छ, आफ्नै देशभित्र यति धेरै भाडा तोकेर आकस्मिक काममा आवागमन गर्न चाहने यात्रुलाई थप सास्ती दिने काम भएको छ ।”
चाडपर्व नजिकिएसँगै गन्तव्यमा आवागमन गर्न बसको टिकट पाउन सकस झेलिरहेका यात्रुलाई हवाई भाडादर वृद्धि हुँदा हवाईमार्गबाट आवागमन गर्ने चाहना पनि पूरा हुन सकेको छैन । धनगढी विमानस्थल कार्यालयका प्रमुख गणेशबहादुर सिंहले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा स्वीकृत भाडा दरअनुसार नै यतिबेला विमान कम्पनीले अधिकतम भाडा लिइरहेको बताए ।

“मन्त्रालयले स्वीकृत गरेको भाडादर अनुसार नै विमान कम्पनीले लिइरहेको देखिएको छ”, उनले भने, “चाड पर्वको बेला काठमाण्डौंबाट धनगढी फर्किने यात्रुको चाप बढ्दा अधिकतम भाडा र धनगढीबाट काठमाण्डौं जाने यात्रु घट्दा न्यूनतम भाडा लिइरहेको देखिन्छ ।” भाडादर वृद्धिको विरोधमा विमानस्थल कार्यालय परिसरमा युवाको समूहले विरोध प्रदर्शन गरेको छ ।
हाल काठमाण्डौं-धनगढीको भाडादर १४ हजार ७०१ रुपैयाँदेखि १७ हजार १८६ रुपैयाँ लिने गरिएको छ । धनगढीदेखि काठमाण्डौंसम्मको भाडा भने न्यूनतम ७ हजार ९०० रुपैयाँ छ । गएको साउन महिनादेखि यात्रुको हवाई टिकटमा मूल्य अभिवृद्धि कर (भ्याट) समेत जोड्ने गरिएको छ । यसअघिसम्म टिकटमा भ्याट जोड्ने गरिएको थिएन । पछिल्ला केही महिनादेखि प्रतियात्रु विमानस्थलको सेवा शुल्क काठमाण्डौं ४०० रुपैयाँ र धनगढीमा ५०० रुपैयाँ तोकिएको छ ।
धनगढी विमानस्थलबाट बुद्ध एयर र श्री एयरलायन्सले काठमाण्डौं–धनगढी–काठमाण्डौंसम्मको दैनिक हवाई सेवा उपलब्ध गराउँदै आएको छ । यो विमानस्थलबाट दैनिक बुद्धले दुई र श्री एयरलायन्सले चार उडान भर्ने गरेको छ । निजी क्षेत्रको समिट एयरले केही दिनदेखि नेपालगञ्ज बेसमा हरेक बुधबार र सोमबार धनगढी–बझाङ–धनगढी, धनगढी–साँफे–धनगढी र धनगढी–बाजुरा–नेपालगञ्जमा हवाई सेवा दिन थालेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया