
प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ आज मुुस्ताङ पुगेका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गतको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले आयोजना गरेको जलवायु परिवर्तनसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा सहभागी हुन मुस्ताङ पुगेका हुन् ।
नेपाली सेनाको हेलिकोप्टरमार्फत बिहान जोमसोम गएको प्रधानमन्त्री दाहाल कोरलानाका, गत साउनको बाढीले क्षति पुगेको कागबेनीलगायत क्षेत्रको अनुगमनमा गएका मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । प्रधानमन्त्री दाहालले मुुस्ताङ भ्रमणका क्रममा कोरलानाका र गत साउनको बाढीले क्षति पुुगेको कागबेनीको हवाई निरीक्षण गर्ने कार्यक्रम छ । उनले हालै गरेको चीन भ्रमणका क्रममा मुस्ताङको कोरलालगायत १४ वटा व्यापारिक नाका सञ्चालन गर्ने सहमति भएको थियो ।
चार वर्षदेखि बन्द रहेको कोरलानाका सञ्चालनका लागि लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका एक हजार जनाभन्दा बढी सर्वसाधारणलाई चीन प्रवेशका लागि अनुमतिपत्र वितरण गरिएको छ । प्रधानमन्त्री दाहालसमक्ष स्थानीयवासीले कालीगण्डकी नदीको कटान, उपल्लो मुस्ताङको पाँचवटा गाउँलाई अर्धनिषेधित क्षेत्रबाट हटाउन र जग्गासम्बन्धी समस्याबारे छलफल गर्ने कार्यक्रम तय भएको नेकपा (माओवादी केन्द्र) मुस्ताङका इन्चार्ज कपिल लामाले बताए ।
प्रधानमन्त्री दाहालसँगै वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतो, गण्डकी प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री सुशीला सिंखडा, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जाली, प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेललगायत त्यहाँ पुगेका छन् । जलवायु परिवर्तनसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा सहभागी भएपछि प्रधानमन्त्री दाहालले आजै जोमसोममा ‘जनतासँग माओवादी रुपान्तरण अभियान’अन्तर्गत आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया