संचालन खर्च र करको चापले चिलिमेको नाफा प्रभावित, प्रतिशेयर आम्दानी खस्क्यो

0
Shares

चिलिमे जलबिद्युत कम्पनीको खुद नाफामा गिरावट आएको छ । चालु आर्थिक बर्षको ९ महिनाको अवधिमा चिलिमेले ५४ करोड ३६ लाख नाफा गरेको छ ।

जुन गतबर्षको यसै अवधिको तुलनामा १७.४४ प्रतिशत कम हो । गत बर्षको तेश्रो त्रैमासमा चिलिमेले ६५ करोड ८५ लाख कमाएको थियो ।

कम्पनीको संचालन खर्च बढेको छ । विद्युत बिक्री वापतको आम्दानी सामान्य बढेको छ भने कर वापतको खर्च उच्च भएकाले नाफा प्रभावित भएको हो ।

कम्पनीले विद्युत बिक्रीबाट ८० करोड ७५ लाख आम्दानी गरेको छ । जुन गत बर्षको भन्दा नगन्य बढी हो । कम्पनीको संचालन खर्च ४९ प्रतिशतले बढ्दा संचालन नाफामा गिरावट आएको छ ।

चिलिमेको चुक्ता पूँजी चार अर्ब ७५ करोड रहेको छ भने जगेडा कोषमा पनि ४ अर्ब ५१ करोड छ ।

कम्पनीको प्रतिशेयर आम्दानी १५ रूपैया, प्रतिशेयर नेटवर्थ कायम भएको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ३३ गुणा छ ।

चिलिमेले रसुवामा २२ मेगावाटको आयोजनाबाट विद्युत उत्पादन गर्दै आएको छ भने रसुवा, नुवाकोट र सिन्धुपाल्चोकमा २७० मेगावाटका आयोजनाहरू बनाई रहेको छ । उसले अन्य आयोजनाहरुमा झण्डै ६ अर्ब रुपैयाँ लगानी गरेको छ । कम्पनीले एक अर्ब १९ करोड बैंकमा राखेको छ ।

कम्पनीले गत बर्षको खुद नाफाबाट २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश दिएको थियो ।