भिजन लुम्बिनीले कात्तिक १६ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने


भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले कात्तिक १६ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरेको आईपीओ बाँडफाँड गरेपश्चात् सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीलाई पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले भदौ ५ गते मंगलबार भिजन लुम्बिनीलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको थियो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु, सामूहिक लगानी कोष र कम्पनीका कर्मचारीहरुलाई बाँडफाँड गरी बाँकी रहेको ४ लाख ८७ हजार ९१० कित्ता सेयर सहित गरी कुल २० लाख ७५ हजार २८५ कत्ता साधारण सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।

कम्पनीले भदौ १९ गतेदेखि सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने १ करोड ९१ लाख २५ हजार रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका १ लाख ९१ हजार २५० कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो ।

यस्तै कम्पनीले १९ करोड १२ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका १९ लाख १२ हजार ५०० कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको थियो ।

सर्वसाधारणले न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ३ लाख ८० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्ने छन् । कम्पनीको आइपीओमा कात्तिक १६ गतेदेखि कात्तिक २० गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा आवेदन नपरेमा भने निष्काशन अवधि मंसिर १ गतेसम्म लम्बिने छ ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

कम्पनीको आइपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

सेती नदी जलविद्युत आयोजनाको लागत ५ अर्ब २० करोड

कम्पनीले प्रबर्धन गरिरहेको २५ मेगावाटको सेती नदी जलविद्युत आयोजनाको कुल अनुमानित लागत ५ अर्ब २० करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २० करोड ८० लाख रुपैयाँ रहेको छ। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७.४६ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १२.१४ वर्ष रहेको छ। आयोजनाको विद्युत उत्पादन अनुमति ३३ वर्ष बाँकी रहेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।